काठमाडौं । राजस्व अनुसन्धान विभागले राजस्व चुहावटको आरोपमा चार जना विरुद्ध मुद्दा दायर गरेको छ । विभागले सरकारलाई तिर्नु बुझाउनु पर्ने भन्सार महसुल, मूल्य अभिवृद्धि कर तथा आयकर समेत नतिरी राजस्व चुहावट गर्ने न्यू मनकामना सप्लायर्स प्रोप्राईटर रेखा जैसवालसहित चार जना विरुद्ध मुद्दा दायर गरेको हो ।
अर्घाखाँची स्थायी वतन भई वुटवल ६, विकास पथ, रूपन्देही बस्ने नसिपदिन मियाँ, रिब्दीकोट २, पाल्पा स्थायी वतन भई न्यू मालिका ढुवानी सेवा, (स्थायी लेखा नम्बर ६०३७३१७९८), वुटवलको कारोबार हेर्ने व्यक्ति शंकरप्रसाद आचार्य, सिद्धार्थनगर १, रुपन्देही स्थायी वतन भई न्यू मनकामना सप्लायर्स (स्थायी लेखा नम्बर ६०५००३२२४) सिद्धार्थनगर १, वेलहिया, रुपन्देहीका प्रोप्राईटर रेखा जैसवाल र भारत दिल्ली गान्धीनगर राजगढ कलोनी स्थायी वतन भई काठमाडौं महानगरपालिका वडा नम्बर १ बस्ने आशिष सिंह विरुद्ध मुद्दा दायर गरिएको विभागले जनाएको छ ।
राजस्व अनुसन्धान विभागका अनुसार प्रतिवादी शंकर प्रसाद आचार्य, रेखा जैसवाल, नसिपदिन मियाँ र आशिष सिंहले मिलेमतो गरी भारतबाट भन्सार चोरी पैठारी गरी मालवस्तु नेपाल भित्र्याई काठमाडौँ लगायतका ठाउँहरुमा विक्री वितरण गरी सो मालवस्तुको नेपाल सरकारलाई तिर्नु बुझाउनु पर्ने भन्सार महसुल, मूल्य अभिवृद्धि कर तथा आयकर समेत नतिरी राजस्व चुहावट गरेको विभागको आरोप रहको छ ।
नसिपदिन मियाँ, शंकर प्रसाद आचार्य, रेखा जैसवाल र आशिष सिंहलाई राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन बमोजिम एक करोड अढतिस लाख पचपन्न हजार पाँच सय अढतिस रुपैयाँ बिगो कायम गरी सोही ऐन बमोजिम प्रतिवादीहरुबाट बिगो असुल गरी बिगोको शतप्रतिशत जरिवाना गरी कैद सजाय माग गरिएको छ ।
त्यस्तै, रेखा जैसवाल, नसिपदिन मियाँ र आशिष सिंहलाई सोही ऐनको दफा २(छ१) (क), (ख) र (ङ) बमोजिम नौ करोड एक्काइस लाख पन्चानब्बे हजार छतिस रुपैया बिगो कायम गरी सोही ऐनको दफा २३(१) र (२) बमोजिम प्रतिवादीहरुबाट बिगो असुल गरी बिगोको शत प्रतिशत जरिवाना गरी सोही ऐनको दफा २३(१) (ग) बमोजिम कैद सजाय समेत हुन मागदावी लिई अभियोगपत्र दायर गरिएको विभागले जनाएको छ ।
Comment