बागमती प्रदेशमा चल्ने सार्वजनिक सवारी साधनको भाडा आज देखि बढ्यो, कुनमा कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

बागमती प्रदेशमा चल्ने सार्वजनिक सवारी साधनको भाडा आज देखि बढ्यो, कुनमा कति ?



काठमाडौं । बागमती प्रदेशमा चल्ने सबै खाले सार्वजनिक सवारी साधनमा लागू हुने गरी भाडा वृद्धि भएको छ । श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयको गत शुक्रबारको निर्णय अनुसार भाडा समायोजन गरेको हो ।

वृद्धि भएको भाडा नयाँ वर्षको पहिलो दिन बैशाख १ गतेदेखि लागू हुने भएको छ । अब यात्रुले किलोमिटरको आधारमा भाडा तिर्नुपर्नेछ । जसअनुसार पाँच किलोमिटरसम्म यात्रा गर्दा २० रुपैयाँ १० किलोमिटरसम्म २५ रुपैयाँ १५ किलोमिटरसम्म ३० र २० किलो मिटरसम्म ३३ रुपैयाँ तिर्नुपर्ने छ । यस्तै ट्याक्सीको पनि भाडा बढेको छ।

बाग्मती सरकारले जारी एक सुचनामा भनिएको छ,‘ २०७९ /१/ १ देखि लागू हुने गरी बागमती प्रदेश भित्र स‌ंचालन हुने सार्वजनिक सवारी साधनको भाडादर देहाय अनुसार हुने गरी यस मन्त्रालयको २४ (माननीय मन्त्रीस्तर) को निर्णयानुसार समायोजन गरिएको छ। साथै पछिल्लो पटक भाडा समायोजन गर्दा आधार मानिएको मूल्यको तुलनामा पेट्रोलियम पदार्थको बजार मूल्य ५ प्रतिशत वा सो भन्दा वढी वा घटी भएमा सोही बमोजिम प्रदेश भित्र सञ्चालन हुने सवारी साधनको भाडा समायोजन हुनेछ।’

बागमती प्रदेशमा पेट्रोलियम पदार्थबाट सञ्चालन हुने ट्याक्सी सेवाको हकमा प्रति २०० मिटरको भाडादर १० रुपैयाँ कायम गरिएको छ भने प्रतिक्षा शुल्कका विषयमा प्रति १ मिनेटको १.२० रुपैयाँ कायम गरिएको छ ।

विधुतीय माध्यमबाट सञ्चालन हुने ट्याक्सी सेवाको हकमा प्रति २०० मिटरको भाडादर ९ रुपैयाँ कायम गरिएको छ । यस्तै मालबहाक सवारी साधनकाे पनि १३ प्रतिशत भाडा बढेकाे छ ।

प्रकाशित : 14 April, 2022 8:59 am