काठमाडौं । सहकारीमार्फत युवा उद्यमशीलता वृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको युथ फोरमको तयारी अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय सहकारी महासंघको आयोजनामा काठमाडौंको एभरेष्ट होटलमा चैत्र २५ र २६ गते हुने ‘को–अपरेटिभ एन्टरप्रेनरशिप नेशनल युथ फोरम’ को तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ ।
सहभागिताको लागि नाम दर्ताको काम समेत भईरहेको छ । उक्त फोरमको सह आयोजकमा शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था र तुलसी बहुउद्देश्यीय सहकारी संस्था रहेका छन् । फोरममा देशभरका दुई सय पचास सहकारीका सञ्चालक, युवा उद्यमीहरु र प्रतिनिधिहरुको सहभागिता रहने महासंघका सञ्चालक तथा युवा फोरमका संयोजक सागर ढकालले बताए ।
फोरममा युवा र उद्यमशीलता सम्बन्धी विभिन्न चार विषयमा छलफल र प्रस्तुती समेत हुने ढकालले जानकारी दिए ।पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे, नेपाल उद्योग वाणिज्य महासंघका गोविन्द घिमिरे, अष्ट्रेलियाका पूर्व राजदुत महेश दाहाल, युवा तथा साना व्यवसायी स्वरोजगार कोषका उपाध्यक्ष देवराज रोका लगायतले नेपालमा युवा र उद्यशीलता विषयमा कार्यपत्र प्रस्तुत गर्ने संयोजक ढकालले जानकारी दिए ।
सहकारीमार्फत युवा उद्यमशीलता वृद्धि गर्न सहयोग गर्नु गोष्ठिको प्रमुख उद्देश्य रहेको ढकालको भनाई छ । ‘युवाहरुलाई उद्यमशील बनाउने, मुलुकको आर्थिक विकास र समृद्धिमा सहभागीता र योगदान बढाउन फोरमले भमिका खेल्ने अपेक्षा हामीले गरेका छौैं’, संयोजक ढकालले भने , ‘फोरमले सहकारीको नीति निर्माणमा युवा सहभागिताको लागी दवाव सिर्जना गर्न र सहकारीमा नविन सोच, प्रविधिको विस्तार साथै युवा मैत्री वातावरण निर्माणमा फोरमले सहयोग पु¥याउने अपेक्षा गरिएको छ ।’
Comment