विदेशी बैंकलाई नेपालमा शाखा खोल्न दुई अर्ब चाहिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

विदेशी बैंकलाई नेपालमा शाखा खोल्न दुई अर्ब चाहिने



काठमाडौं । राष्ट्र बैंकले ‘फरेन बैंक ब्राञ्च लाइसेन्सिङ पोलिसी २०२२’ जारी गरेको छ । विदेशी बैंक तथा वित्तीय संस्थाले नेपालमा शाखा सञ्चालन गर्न न्यूनतम २ करोड अमेरिकी डलर चुक्ता पुँजी हुनुपर्ने नियममा उल्लेख छ । यस्ता शाखाहरुले नेपालमा निक्षेप तथा ऋण सम्बन्धी थोक बैंकिङ कारोबार मात्र गर्न पाउने राष्ट्र बैंकले जनाएको छ ।

केन्द्रीय बैंकका अनुसार ‘इन्भेष्टमेन्ट ग्रेड’ को अन्तर्राष्ट्रिय रेटिङ पाएको विदेशी बैंकले मात्रै नेपालमा शाखा खोल्न पाउनेछ । नेपालमा शाखा खोल्न इच्छुक विदेशी बैंकले केन्द्रीय बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागमा निवेदन दिनुपर्नेछ भने सम्बन्धित देशको केन्द्रीय बैंकबाट ‘नो अब्जेक्सन लेटर’ प्राप्त गरेको हुनुपर्नेछ ।

नेपालमा निवेदन दिँदा प्रस्तावित चुक्ता पुँजीको ५ प्रतिशत अर्थात १० लाख अमेरिकी डलर डिपोजिट गरेको सक्कल भौचर पनि संलग्न गर्नुपर्नेछ । त्यसैगरी अन्तिम स्वीकृति पाउनु अगाडि बाँकी चुक्ता पुँजीको ९५ प्रतिशत भने बैंक ग्यारेन्टी अथवा नगदमै राष्ट्र बैंकमा दाखिला गरे पनि मान्य हुने जनाएको छ ।

प्रकाशित : ३ चैत्र २०७८, बिहीबार १५:३४