एनआईसी एशिया बैंकले बोलायो साधारण सभा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

एनआईसी एशिया बैंकले बोलायो साधारण सभा



काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले लाभांश प्रस्ताव बिनानै २४औं वार्षिक साधारण सभा बोलाएको छ । बैंकले चैत २० गते आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा विहान ९ बजे सभा गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्ष ०७७/७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय सल्ट्याउने छ ।

साथै प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, स्वतन्त्र सञ्चालन नियुक्ती प्रकृयालाई अनुमोदन गर्ने कार्यक्रम समेत सभाका लागि तय भएको छ । सभाले संस्थापक शेयरधनीहरुबाट तीन जना र सर्वसाधारण शेयरधनीहरुबाट तीन जना गरी ६ जना सञ्चालकहरुको निर्वाचन समेत गर्नेछ । सभा प्रयोजनका लागि बैंकले चैत ८ गतेदेखि २० गतेसम्म बुक क्लोज गर्ने भएको छ । यस आधारमा चैत ७ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन सक्नेछन् ।

विगतका वर्षहरुमा ४१ दशमलव ०५ प्रतिशतसम्म लाभांश वितरण गरेको बैंकले यस वर्षभने लगानीकर्ताहरुलाई नियमक निकायको निर्देशन बमोजिम लाभांश वितरण गर्न नसकेको हो । गत वर्ष भने बैंकले १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश सहित कुल २० प्रतिशत लाभांश वितरण गरेको थियो । यस वर्ष गत वर्षको मुनाफाबाट १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७८ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको बैंकलाई राष्ट्र बैंकले उक्त लाभांश वितरणमा रोक लगाएको हो । राष्ट्र बैंकले बैंकको क्यापिटल कन्जरभेसन बफर प्रयाप्त नभएको भन्दै लाभांश प्रस्तावलाई अस्वीकृत गरेको हो ।

प्रकाशित : २७ फाल्गुन २०७८, शुक्रबार ११:१८