काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले सहकारीको सर्वमान्य सिद्धान्त, मुल्य र मान्यता अनुसार सहकारीहरुलाई अगाडी बढाउन कसैको दबाब र प्रभावमा नपरि काम गर्न सहकारी विभागलाई निर्देशन दिएकी छन् ।
नयाँ बानेश्वरस्थित सहकारी विभागको विहीबार अनुगमन तथा निरिक्षण गर्दै मन्त्री श्रेष्ठले सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि अनुगमनलाई प्रभावकारी बनाउदै जिम्मेवार भएर काम गर्न निर्देशन दिएकी हुन् ।
उनले भनिन् ‘धेरै सहकारीहरुले सिद्धान्त, मुल्य र मान्यताअनुसार काम नगरेको र सदस्यहरु मारमा परेको गुनासो बढ्दै गइरहेको अवस्थामा समयमा नै समस्या पहिचान गर्नुस त्यसको समाधानका लागि मन्त्रालय तयार छ ।’
मन्त्री श्रेष्ठले नियमित रुपमा संचालनमा रहेका सहकारीको वास्तविक तथ्याङ्क लिनुपर्ने, सहकारी एकीकरणमा देखिएको समस्या समाधान गर्नुपर्ने, सहरकारी प्रशिक्षण केन्द्रलाई स्तरोन्नती गर्नुपर्ने र संघीयताको मर्म अनुसार आ–आफ्नो क्षेत्राधिकार भित्र रहेर सहकारी विभाग र प्रशिक्षण केन्द्रले परिणाम निस्कने गरी काम गर्नु पर्नेमा जोड समेत दिइन ।
सो अवसरमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव रामप्रसाद थपलियाले सहकारी क्षेत्रमा सुशासन कायम गर्न राम्रा काम गर्नेलाई सम्मान र नराम्रो गर्नेलाई दण्डित गर्न आवश्यक रहेको भन्दै त्यसमा विभागले प्रभावकारी भूमिका खेल्नुपर्ने बताए ।
सहकारी विभागका रजिष्टार रुद्रप्रसाद पण्डितले सहकारी क्षेत्रमा रहेका समस्या समाधानका लागि आफुले पहल शुरु गर्ने र सहकारीको नियमन, प्रवद्र्धन र प्रशिक्षणलाई जोड दिएर कार्यक्रम ल्याउने प्रतिवद्धता व्यक्त गरे ।
Comment