जनस्वास्थ्य नियमावलीअनुसार आइभिएफको इजाजत पाउने पहिलो अस्पताल बन्यो नर्भिक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

जनस्वास्थ्य नियमावलीअनुसार आइभिएफको इजाजत पाउने पहिलो अस्पताल बन्यो नर्भिक



काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटल जनस्वास्थ्य सेवा नियमावली, २०७७ लागू भएपछि टेस्टट्यूब बेबी(आइभिएफ) संचालनको इजाजत पाउने देशकै पहिलो अस्पताल बनेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नर्भिकलाई नयाँ व्यवस्थाअनुसारको मापदण्ड पूरा गरेको आधारमा आइभिएफ सेन्टर संचालनको इजाजत दिएको हो ।

जनस्वास्थ्य सेवा नियमावली, २०७७ बमोजिम टेस्टट्यूब बेसी(आइभिएफ) संचालन गर्ने इजाजतपत्रका लागि नर्भिकले २०७८ साउन १२ गते निवेदन दिएको थियो । २०७८ माघ २५ गते सो निवेदनउपर कार्यबाही भई सचिवस्तरको निर्णयबाट नर्भिकलाई आइभिएफ सेन्टर संचालनको इजाजत दिइएको हो ।

जनस्वास्थ्य सेवा नियमावली, २०७७ को नियम १२ बमोजिम नर्भिकलाई आइभिएफ सेन्टर संचालनको इजाजत दिइएको महाशाखा प्रमुख डा. मदनकुमार उपाध्यायले जानकारी दिए ।


उहाँकाअनुसार जनस्वास्थ्य नियमावली २०७७ ले व्यवस्था गरेअनुसारको मापदण्ड पूरा गरी आइभिएफ सेन्टर संचालनको इजाजत पाउने नर्भिक पहिलो अस्पताल बनेको छ । यसअघि विभिन्न ठाउँमा संचालनमा रहेका आइभिएफ सेन्टरहरु कुनै जिल्ला, कुनै क्षेत्रबाट इजाजतप्राप्त थिए । उहाँले भन्नुभयो ः तर जनस्वास्थ्य नियमावलीमा उल्लेख भएको मापदण्ड पूरा गरी तथा नयाँ व्यवस्था आएपछि आइभिएफ सेन्टर संचालन गर्ने नर्भिक पहिलो अस्पताल बनेको हो ।


नर्भिकले अस्पतालको मुख्य भवनको विपरीत दिशामा अलग्गै भवनमा आइभिएफ सेन्टरका सबै आधुनिक पूर्वाधारहरु तयार गरी परामर्श सेवा संचालन गर्दै आएको छ । सुविधासम्पन्न र आधुनिक आइभिएफ सेन्टरमा जेनेटिक ल्याबसहितको अत्याधुनिक उपचार सेवा उपलब्ध रहेको अस्पतालले जनाएको छ । नर्भिक आइभिएफ सेन्टर अत्याधुनिक जेनेटिक ल्याब भएको देशकै पहिलो र एकमात्र आइभिएफ सेन्टर पनि हो ।

प्रकाशित : १ फाल्गुन २०७८, आईतवार १८:३८