श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले ११ प्रतिशत लाभांश पुस २९ गते पारित गर्दै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले ११ प्रतिशत लाभांश पुस २९ गते पारित गर्दै



काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले पुस २९ गते २७औं वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीको पुस ७ गतेको सञ्चालक समितिको बैठकले कम्पनीको रजिष्टर्ड कार्यालय डिल्लिबजार, काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्ष ०७७/७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारण समेत गर्नेछ ।

यस वर्षको लागि प्रस्तावित कुल ११ प्रतिशत लाभांशलाई पनि सभाले पारित गर्नेछ । कम्पनीको मंसिर १४ गतेको सञ्चालक समितिको बैठकले ७ दशमलव ७० प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि ३ दशमलव ३० प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । यस वर्ष कम्पनीले गत वर्षभन्दा थोरै प्रतिशत मात्र बढी लाभांश वितरण गर्न लागेको हो । गत वर्ष कम्पनीले ७ दशमलव ३७ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि ३ दशमलव १६ प्रतिशत गरी कुल १० दशमलव ५३ प्रतिशत लाभांश वितरण गरेको थियो ।

यी प्रस्तावहरुसँगै कम्पनीले विद्यमान संस्थापक तर्फको ५३ दशमलव ३२ प्रतिशत शेयर स्वामित्वलाई ५१ प्रतिशत र विद्यमान सर्वसाधारण तर्फको ४६ दशमलव ६८ प्रतिशत शेयर स्वामित्वलाई ४९ प्रतिशत कायम गर्न प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव पनि सभाका लागि तय भएको छ । सभाले संस्थापक समूहतर्फ रिक्त रहेको १ जना सञ्चालकको पदमा बाँकी कार्यकालका लागि र स्वतन्त्र सञ्चालक पदमा ४ वर्ष अवधिका लागि एक जना समेत गरी दुई जना सञ्चालकको नियुक्ती अनुमोदन गर्नेछ ।

अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा प्राप्ती प्रकृयामा जाने भएको त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ । सभा प्रयोजनका लागि कम्पनीले पुस २२ गते एक दिन बुक क्लोज गर्ने भएको छ । यस आधारमा पुस २१ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

प्रकाशित : ८ पुष २०७८, बिहीबार १०:३७