नुवाकोटको ‘आलु जोन’ क्षेत्रमा रासयनिक मलको चरम अभाव, कालोबजारी मौलाउँदो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नुवाकोटको ‘आलु जोन’ क्षेत्रमा रासयनिक मलको चरम अभाव, कालोबजारी मौलाउँदो



काठमाडौं । आलु जोनका रुपमा परिचित नुवाकोटका केही गाउँमा आलु रोप्नका लागि किसानहरुलाई रासायनिक मलको चरम अभाव भएको छ ।

नुवाकोटको लिखु, पन्चकन्या, सूर्यगढी गाउँपालिकाका किसानहरु हाल मंहगो मूल्यमा कालोबजारी गरेर ल्याइएको मलको प्रयोग गर्न बाध्य छन् ।

कृषि समूहमार्फत पाउँदै आएको रसायनिक मल हाल व्यापारीहरुले चर्को मूल्य लिएर किसानहरुलाई विक्री गरिरहेका छन् । जसका कारण किसानहरु मारमा परेका छन् ।

लिखु गाउँपालिका–४ स्थित चण्डेश्वरी महिला कृषि समूहकी अध्यक्ष सुलोचना राई करोडौंको आलु उत्पादन हुने यस क्षेत्रमा सरकारले किसानहरुका लागि कुनै सहयोग नगरेको, रासायनिक मलमा कालोबजारी बढ्दा पनि सम्बन्धित निकाय मौन बसेको आरोप लगाइन ।

त्यस्तै अर्का किसान राम प्रसाद लामिछानेले समूहमार्फत मल नपाउँदा ब्यापारीहरुबाट २५ सय पर्ने डिएपी मललाई ३३ सय रुपैंयाँ तिर्नुपरेको गुनासो गरे । ‘किसानहरुका लागि सक्रिय रहेका प्रधानमन्त्री कृषि आनुनिकीकरण केन्द्र, कृषि जोन कार्यालय साथै चकलाबन्दी कार्यक्रम यस क्षेत्रका किसानका लागि मूकदर्शक मात्र भएका छन्,’ उनले भने ।

आलु रोप्ने मध्य सिजनमा सम्बन्धित निकायले सहज रुपमा मल उपलब्ध गराउन भूमिका निर्वाह गर्न नसकेकोमा अर्का किसान सानुभगत सुब्बाले आक्रोश ब्यक्त गरे । उक्त क्षेत्रका किसानहरु यतिबेला आलु रोप्नका लागि खेतबारीको तयारीमा लागेका छन् । नुवाकोट केही क्षेत्र आलु जोनका रुपमा परिचित छन् । तर मलसँगै उच्च गुणस्तरको विउको पनि अभाव देखिएको छ ।

प्रकाशित : ३ मंसिर २०७८, शुक्रबार ११:३६