२ सय ८० घरधुरीलाई नि:शुल्क सोलार वितरण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

२ सय ८० घरधुरीलाई नि:शुल्क सोलार वितरण



डोल्पा । डोल्पामा २ सय ८० घरधुरीलाई नि:शुल्क सोलार वितरण गरिएको छ ।  त्रिपुरासुन्दरी नगरपालिकाका विभिन्न वडाका सर्वसाधारणलाई सोलार वितरण गरिएको हो ।

वैकल्पिक ऊर्जा परिवर्द्धन केन्द्र काठमाडौंको अनुदान सहयोगमा नगरपालिकाअन्तर्गतका वडा नम्बर १ का ४०, वडा नम्बर २ का ७१, वडा नम्बर ३ का ३५, वडा नम्बर ४ का ३५,वडा नम्बर ७ का ४०, वडा नम्बर ८ का ३५ गरेर कूल २ सय ८० घरधुरीलाई सोलार वितरण गरिएको हो ।

कार्यवाहक नगर प्रमुख चन्द्राकुमारी बुढाको रोहबरमा ८० वाटको सोलार, ब्याट्री, तार, बल्बलगायत सामानसहित नि:शुल्क सोलार वितरण गरिएको सौर्य इनर्जी डोल्पाका प्रतिनिधि लिलराज रोकायले बताए ।

डोल्पासम्म सिधा यातायातको सुविधा नहुँदा वर्षातको समयमा एक दर्जन धेरै ठाउँमा गाडी परिवर्तन गर्दै अनेक दुःख कष्ट झेलेर सोलार ढुवानी गर्न सफल भएको रोकायको भनाई छ ।

दैनिक घण्टौ लोडसेडिङको मारले अँध्यारोमै जीवन गुजारा गरिरहेका ग्रामीण गाउँ बस्तीका नागरिक सोलार पाएपछि खुसी भएका छन् ।

त्रिपुरासुन्दरी नगरपालिकाका सत्र सय घरधुरीले सोलारको लागि आवेदन दिएका थिए । प्रतिघरधुरी एक सय रुपैयाँ र नागरिकताको फोटोकपी बुझाएका १४ सय २० घरधुरीले सोलार पाएनन् ।

वैकल्पिक ऊर्जाले माग गरेजति सबै सोलार नदिएपछि आवेदन दिएका सबैघरधुरीले सोलार नपाएको नगरपालिकाले बताएको छ ।

‘सुरुमा एक सय रुपैयाँ र नागरिकता पेस गर्दा अनुदानमा सोलार पाइने भयो भनेर धेरै खुसी थियौं । अहिले अन्तिममा आएर नगरपालिकाले ऊर्जाले पठाएको नामलिष्टमा नाम छैन भनेर भन्यो’, त्रिपुरासुन्दरी नगरपालिका १ का प्रेम शाहीले भने ।

‘गरिब विपन्नका लागि सोलार भनिएको थियो । तर, कतिपय हुनेखाने र नेता तथा जनप्रतिनिधिलेनै सोलार पाए । वास्तविक विपन्न पनि छुटेका छन्’, उनले भने ।

एकप्रति नागरिकताको फोटोकपी र एक सय रुपैयाँ उठाएका चौध सय २० घरधुरीका सबैले सोलार नपाएपछि विवाद उत्पन्न भएको छ ।
सबै नागरिकको नाम सोलार पाउने सूचीमा छनोट नभएपछि विवाद भएको हो ।

सोलार पाउने व्यक्तिको नाम छनोटका विषयमा यता वडाका कतिपय जनप्रतिनिधिलाई थाहै नभएको बताएका छन् । आफ्नै वडामा पनि सोलार पाउनेको नाम पनि के कसरी छानियो आफूलाई थाहा नभएको वडा नम्बर १ का अध्यक्ष कर्मसिंह थापाले बताए ।

यस विषयमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रअन्तर्गत सौर्य तथा वायु ऊर्जा शाखाका सहायक निर्देशक डा. लक्ष्मण प्रसाद घिमिरेसँग बुझ्दा नगरपालिकालेनै नाम छनोट गरेर पठाएकाले त्यसैका आधारमा सूची प्रकाशित गरिएको बताए । ‘नगरपालिकाबाट सत्र सय घरधुरीकै नाम आएको थियो । माग भएजति सबैलाई सोलार दिन नसकिने भयो । फेरी सोलार पाउनै पर्ने बत्ती नपुगेका, विपन्न घरधुरीको नाम छनोट गरेर पठाउन भन्यौं । उताबाट जुन नाम आयो तिनैको नाम हालियो । हामीले नाम छनोट गरेका होइनौं’, घिमिरेले भने ।

प्रकाशित : २४ कार्तिक २०७८, बुधबार २१:४०