आजका महत्त्वपूर्ण खबर: मंसिरदेखि नयाँ दर्ता सवारीमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य,सुनसरी र ओखलढुंगा एमालेमा झण्डै ठोकाठोक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

आजका महत्त्वपूर्ण खबर: मंसिरदेखि नयाँ दर्ता सवारीमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य,सुनसरी र ओखलढुंगा एमालेमा झण्डै ठोकाठोक



पूर्व-पश्चिम राजमार्ग फेरि अवरुद्ध, प्रहरीद्वारा अश्रुग्यास प्रहार
 
कैलालीमा केही समयका लागि खुलेको पूर्व-पश्चिम राजमार्ग फेरि अवरुद्ध भएको छ ।

अवरोध हटाउन र हत्याविरुद्ध जारी आन्दोलन साम्य पार्न प्रहरीले अश्रुग्याससमेत प्रहार गरेको छ ।

जिल्लाको लम्कीका युवक भूपेन्द्र बडुवालको हत्यामा संलग्नलाई तत्काल पक्राउ गरी कारबाहीको माग गर्दै बुधबार बिहानदेखि स्थानीयले राजमार्ग अवरुद्ध गरेका थिए । 

राजमार्ग दिउँसो केहीबेर खुलेको थियो । प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक वामदेव गौतमका अनुसार प्रहरीले घटनाको अनुसन्धान सहज बनाउन सघाउन आग्रह गर्दै पूर्व-पश्चिम राजमार्गको लम्कीमा खुलाउने प्रयास गरेपछि करिब १० मिनेट सवारी संचालन भएका थिए । 

फेरि पीडित पक्षले आन्दोलन गरेपछि राजमार्ग पुनः अवरुद्ध भएको गौतमले बताए ।

आन्दोलनलाई साम्य पार्न प्रहरीले केही राउण्ड अश्रुग्यास प्रहार गरेको स्थानीयले बताएका छन् ।

मंगलबार राति लम्कीका व्यापारी डम्बर बडुवालका २२ वर्षीय छोरा भूपेन्द्रको खुकुरी प्रहार गरी हत्या गरिएको थियो ।

प्रहरीले हत्याको आरोपमा आठ जनालाई पक्राउ गरेको छ भने केही अझै फरार छन् ।

मंसिरदेखि नयाँ दर्ता सवारीमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य

आगामी मंसिरदेखि सवारीमा जोडिने नम्बर प्लेटलाई ‘इम्बोस्ड’ प्रविधिमा रूपान्तरणको व्यवस्थालाई अनिवार्य गरिने भएको छ । चरणवद्ध रूपमा तोकिएका प्रदेशमा तोकिएका वर्गमा सवारीले तोकिएको मितिदेखि इम्बोस्ड नम्बर प्लोट जडान गर्नुपर्ने भएको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले राजपत्रमा एक सूचना नै प्रकाशन गरेर इम्बोस्ड प्लेट अनिवार्य गर्ने व्यवस्था लागू गर्न लागिएको भन्दै त्यसको तालिका सार्वजनिक गरेको छ । सरकारले नामकरण भइसकेका प्रदेशहरूमा मात्र इम्बोस्ड जडान गर्न लागेको हो ।

१७ वर्षमै नोबेल शान्ति पुरस्कार जित्ने मलालाले गरिन् विवाह

नोबेल शान्ति पुरस्कार विजेता मलाला युशुफजाईले विवाह गरेकी छन् । मलालाले असर मलिकसँग इस्लामिक परंपराअनुसार बेलायतको बर्मिङ्घममा विवाह गरेको जानकारी सामाजिक संजालमार्फत दिएकी छन् । उनले आफ्नो विवाहलाई जीवनको एक मूल्यवान् दिन बताएकी छन् । उनले मलिकसँग भावी जीवनको सहयात्री हुन पाउँदा उत्साहित रहेको पनि बताएकी छन् ।

पाकिस्तानकी महिलाअधिकारकर्मी मलालालाई बालिका शिक्षाको पक्षमा वकलात गरेको भन्दै तालिबानले आक्रमण गरेको थियो । त्यसपछि उनी उपचारका लागि बर्मिङ्घम गएकी थिइन् । बर्मिङ्घमलाई उनले आफ्नो दोस्रो घर बताउने गरेकी छन् । मलाला क्रिकेटकी ठूली प्रशंसक हुन् । उनका पति असर मलिकको पनि क्रिकेटसँग गहिरो नाता छ । उनी पाकिस्तान क्रिकेट बोर्डको नेसनल हाई परफमेन्स सेन्टरका जनरल म्यानेजर हुन् ।

मलालामाथि तालिबानले ९ अक्टुबर २०१२ मा हमला गरेको थियो । त्यति बेला उनको उमेर १५ वर्षको थियो र उनले बालिका शिक्षाका लागि आवाज उठाउने गरेकी थिइन् । यसबाट क्रुद्ध बनेका तालिबान लडाकुले उनको स्कल बसमा आक्रमण गरी गोली चलाएको थियो । टाउकोमा गोली लागेर मलाला र उनकी एक साथी घाइते भएकी थिइन् ।

बीपीको शालिक ईश्वर पोखरेलले अनावरण गर्ने भएपछि सिन्धुली तनावग्रस्त, झडप रोक्न निषेधाज्ञा

सिन्धुलीमाढीको बालउद्यान पार्कभित्रको बीपी कोइराला र पुष्पलाल श्रेष्ठको सालिक अनावरण गर्ने विषयमा विवाद हुँदा सिन्धुलीमा निषेधाज्ञा जारी गरिएको छ । पार्कभित्रको बीपी र पुष्पलालको शालिक एमाले महासचिव ईश्वर पोखरेलले अनावरण गर्ने नगरपालिकाको निर्णयविरुद्ध सत्ता गठबन्धनका दलले विरोध गरेपछि सालिक अनावरण गर्ने कार्यक्रम स्थगित गर्दै निषेधाज्ञा जारी गरिएको हो । 

आज बिहान ११ बजेदेखि मध्यराति १२ बजेसम्म लागू हुने गरी निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जनाएको छ । निषेधाज्ञा सिन्धुलीमाढीस्थित बसपार्क क्षेत्र, स्टल बजार, जुनार चोक, सिन्धुली अस्पताल आसपासको क्षेत्रमा जारी गरिएको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले बताए । 

सिन्धुलीमाढीको बालउद्यान पार्कभित्रको बीपी र पुष्पलालको शालिक अनावरण एमाले महासचिव पोखरेलले बुधबार बिहान १० बजे गर्ने नगरपालिकाले निर्णय गरेको थियो । सर्वदलीय निर्णयबाट शालिक अनवारण गर्नुपर्ने मागसहित सत्ता गठबन्धन दलले विरोध गदै मंगलबार पार्कमा तालाबन्दी गरेका थिए ।

एमाले सुनसरीको बैठकमा इटहरीका मेयरले माइक खोसे

नेकपा एमाले सुनसरी जिल्ला कमिटीको बैठकमा विवाद भएको छ ।

इनरुवामा बुधबार बसेको बैठकमा २ जेठ २०७५ अघिका रमेश बस्नेत र पछिल्लो समय अध्यक्षको जिम्मेवारी पाएका रेवतीरमण भण्डारी समूहबीच बैठकको अध्यक्षतामा कसले गर्ने भन्ने विषयमा विवाद थियो ।

विवाद भएपछि इटहरीका मेयर द्वारिकलाल चौधरीले आफू अध्यक्ष भएको दाबी गर्दै माइक खोसेपछि विवाद झन् बढेको हो । रेवती र रमेश कसले बैठकको अध्यक्षता गर्ने भन्ने विवाद भएपछि खेमराज पोखरेललाई अध्यक्षता गर्न दिने समझदारी भएको थियो ।

तर, पोखरेलले बोल्ने क्रममा इटहरी उपमहानगरपालिका मेयर तथा एमाले नेता द्वारिकलाल चौधरीले माइक खोसेका हुन् । चौधरीले माइक खोसेपछि केही समय विवाद भएको बैठकले खेमराज पोखरेलको अध्यक्षतामा जिल्ला सम्मेलन आयोजक समिति गठन गरेको जिल्ला समिति सदस्य रवि खनालले बताए ।

अवैधानिक कमिटी भन्दै चौधरीले माइक खोसेका थिए । चौधरीले माइक खोसेपछि कार्यकर्ताले उनको हातबाट पनि माइक खोसे । आफ्नो हातबाट माइक खोसिएपछि भने चौधरीले बैठक कक्ष छाडेका थिए ।

ओखलढुंगामा बालकृष्ण ढुंगेल र यज्ञ सुनुवार समूहबीच टकराव

नेकपा एमालेको १०औँ महाधिवेशनका लागि प्रतिनिधि छनोट गुटगत विभाजनले सहमतिमा नहुने भएको छ । दुई गुटबीचको विवाद र माओवादीबाट प्रवेश गरेका समूहले समेत भाग खोजेपछि निर्वाचन निश्चित भएको हो । मंगलबार भएको सचिवालय बैठकमा सहभागी सदस्यहरूले निर्वाचनबाटै प्रतिनिधि छनोट गर्न दबाब दिएका थिए । 

सचिवालय बैठकबाटै नेताहरूले गुटका मान्छे प्रतिनिधि लैजान खोजेपछि निर्वाचनमा जान सदस्यहरूले जोड दिएका हुन् । सचिवालय सदस्य मेगप्रसाद धमलाले करिब १०० जिल्ला सदस्यले चार हजार हाराहारी संगठित सदस्यको प्रतिनिधित्व गर्न नसक्ने भएकाले निर्वाचनमा जान सुझाव दिएको बताए । 

एमालेमा दुई गुटबीच टकराव छ । यसअघि ओली समूहका बालकृष्ण ढुंगेल, अम्बीर गुरुङ, नानीबाबु बुढाथोकी, उत्तम राई, तीर्थ सुवेदी, केदारबाबु बस्नेत, शकुन्तला राजभण्डारीलगायतको एक समूह र यज्ञराज सुनुवार, किशोर अधिकारी, हर्कबोल राई, सीताराम गुरुङ, मणिराज राईलगायतको अर्को समूह बनेको छ । यी २ समूहबीच प्रतिनिधि को पठाउने भन्ने सहमति नहुँदा चुनाव हुने देखिएको हो ।

पूर्वराजालाई प्रधानमन्त्री देउवाको चुनौती : शासन गर्ने मन भए चुनाव जितेर आउनुस्

प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई चुनाव लडेर शासन गर्न चुनौती दिएका छन् ।

बुधबार गणेशमान स्मृति शान्ति प्रतिष्ठानले शान्ति बाटिकामा आयोजना गरेको कार्यक्रममा नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवाले शासन गर्नका लागि चुनाव लडेर आउनुपर्ने बताउँदै प्रजातन्त्रविरुद्ध नलाग्न चेतावनी दिएका हुन् ।

प्रधानमन्त्री देउवाले प्रजातन्त्रको विकल्प प्रजातन्त्र मात्र भएकाले शासन संचालन गर्ने चाहना भएकाले चुनाव लडेर आउन आग्रह गरे ।

‘मैले भनिसकेँ, प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हो, अरू हुनै सक्दैन’, उनले भने‚ ‘उनीहरूले चुनाव आएर लडे भइहाल्यो नि ! चुनाव लड्न नसक्ने अनि प्रजातन्त्रको खिलाफ भनेर हुन्छ ?’

प्रधानमन्त्री देउवाले प्रजातन्त्रमा सबैभन्दा ठूलो शक्ति भनेकै जनता भएको स्मरण गराए । उनले निर्वाचन आयोग र वडादेखि नै हुने चुनाव निष्पक्ष र धाँधलीरहीत हुनुपर्ने बताए । उनले भने‚ ‘जनताभन्दा ठूलो अर्को शक्ति नै छैन । जनता नै हो यो देशको मालिक, जनताले सहयोग गरेनन् भने जान्छ ।’

रौतहटको क्रियाशील सदस्यता सार्वजनिक, सानेपामा अनशन रोकिएन

वडा अधिवेशन सुरु हुन तीन दिनअघि नेपाली कांग्रेसले रौतहटको क्रियाशील सदस्यता सार्वजनिक गरेको छ ।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिले बुधबार रौतहटको क्रियाशील सदस्यता सार्वजनिक गरेको हो । रौतहटको विवाद सुल्झिएसँगै कांग्रेसले ७७ जिल्लाकै क्रियाशील सदस्यता टुंग्याएको हो । रौतहटमा पनि २७ कात्तिकमै वडा अधिवेशन हुने समितिले जनाएको छ ।

क्रियाशील सदस्यता धाँधलीपूर्ण रूपमा वितरण गरेको आरोप लगाउँदै कांग्रेसको केन्द्रीय कार्यालय सानेपमा जारी अनशन भने नरोकिने भएको छ । १११ दिनअघि सानेपामा रौतहट प्रतिनिधिसभा निर्वाचन क्षेत्र- १ का केही नेता, कार्यकर्ताहरू रिले अनशनमा छन् ।

प्रकाशित : २४ कार्तिक २०७८, बुधबार २०:०७