फोहोर व्यवस्थापन : पाेखरा महानगरलाई टाउको दुखाई, ठेकेदारलाई कमाउ धन्दा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

फोहोर व्यवस्थापन : पाेखरा महानगरलाई टाउको दुखाई, ठेकेदारलाई कमाउ धन्दा



पोखरा । बढ्दो सहरीकरणका कारण पोखराको फोहोर उत्सर्जन दैनिक बढिरहेको छ । यहाँका नागरिकले उत्सर्जन गरेको फोहोर व्यवस्थापन पोखरा महानगरलाई भने टाउको दुखाई बनेको छ ।

पोखरामा दैनिक कति फोहोर निस्किन्छ भन्ने ठ्याक्कै तथ्यांक छैन । सन् २०१८ मा गरिएको एउटा अध्ययनले यहाँका प्रत्येक व्यक्तिले सरदर करिब आधा केजी फोहोर उत्सर्जन गर्ने तथ्यांक निकालेको छ । सोही रिपोर्टअनुसार प्रतिदिन पोखराबाट एक सय ८८ टन फोहोर निस्किन्छ ।

फोहोर व्यवस्थापन गर्न पोखराको आफ्नै ल्यान्डफिल साइट छ । ल्यान्डफिल साइट र सहरी सरसफाइका लागि मात्रै ८० भन्दा बढी कर्मचारीलाई नगरपालिकाले तलब दिएर राखेको छ । पोखराले फोहोर व्यवस्थापनकै लागि वर्षेनी सात करोडभन्दा बढी खर्च गर्छ ।

सार्वजनिक निजी साझेदारी अवधारणामा यहाँको फोहोर व्यवस्थापन गर्न ६ वटा निजी कम्पनीको जिम्मा लगाइएको छ । विना टेन्डर ठेक्का दिए पनि उचित व्यवस्थापन हुन सकेको छैन । कर्मचारी र जनप्रतिनिधिकै मिलेमोतोमा निजी कम्पनीसँग मिलेर कमाउ धन्दा चलाइरहेका छन् ।

महानगरले श्रोत साधन दिएर फोहोर उठाएबापत उल्टै पैसा भुक्तानी दिँदै आएको छ । फोहोर उठाउन आवश्यक पर्ने कम्प्याक्टर र टिपर खरिद महानगरले गरिदिएको छ । ठेकेदारले आफूखुसी पैसा उठाएर खाइरहेका छन् ।

२०६१ सालदेखि पोखरामा फोहोर व्यवस्थापनको लागि ठेक्का दिइएको हो । यसअघि फोहोर उठाउने जिम्मा १० वटा ठेकेदार कम्पनीलाई दिइएको थियो । फोहोर व्यवस्थापनका लागि पटक पटक टेन्डर निकाल्न कार्यपालिका बैठकमै छलफल भए पनि बोलपत्र आह्वान भएको छैन । बरु वर्षेनी ठेक्का म्याद थपिँदै आएको छ ।

हाल प्रगति संसार नेपाल, पोखरा फोहोरमैला व्यवस्थापन, नेपाल पब्लिक हेल्थ एन्ड एनभारोमेन्ट फर डेभलोपमेन्ट, भद्रकाली वेष्ट म्यानेजमेन्ट, वातावरणीय सुन्दर नेपाल र वेष्ट म्यानेजमेन्ट रिसाइक्लिङ प्रालिले यहाँको फोहोर ल्यान्डफिलसम्म लैजाने जिम्मा पाएका छन् ।

फोहोरलाई आम्दानीको राम्रो श्रोत बनाउन सकिने विज्ञहरुले सुझाव दिए पनि सोहीअनुसार महानगरले व्यवस्थापन गर्न सकेको छैन । आम्दानी हुने क्षेत्रमा उल्टै खर्च गर्नुपरेको छ । ‘पोखराको फोहोर ब्यवस्थापन निकै कमजोर छ । नागरिकलाई समयमा सेवा दिन सके राम्रै आम्दानी गर्न सकिने श्रोत हो फोहोर,’ उक्त रिपोर्टमा भनिएको छ, ‘फोहोर राजश्व संकलन गर्ने निकै राम्रो श्रोत बन्न सक्छ । त्यसका लागि विस्तृत अध्ययन भएको देखिँदैन ।’

पोखराको फोहोरमा लगानी गर्नेहरू दिनहुँजसो आइरहेका छन् । तर, विभिन्न व्यक्तिको स्वार्थका कारण पुरानो ठेक्काको निरन्तरता तोडिएको छैन । आर्थिक वर्ष २०७६-७७ मा फोहोर उठाएबापत यहाँका सेवाग्राहीसँग ठेकेदारले ६ करोड ४१ लाख रकम संकलन गरेको तथ्यांक छ । त्यसको ८० प्रतिशत महानगरले ठेकेदारलाई नै फिर्ता दिन्छ । पाँच करोड १२ लाख ठेकेदारलाई दिएको छ भने एक करोड २८ लाख मात्रै महानगरले आम्दानी गरेको छ ।

२०७७-७८ मा आठ करोड ५३ लाख संकलन गरिएकोमा एक करोड ७० लाख महानगरले आम्दानी गरेको छ । पोखरामा हाल करिब एक लाख घरसंख्या छ भने ४० हजारभन्दा बढी व्यावसायिक संस्थाहरू छन् ।

फोहोर उठाउने कम्पनीको म्याद अहिलेको कार्यपालिका बैठकले पुनः ६ महिनाका लागि थपिएको छ । टेन्डरमा लगे आम्दानी बढी हुन्छ । अहिले त खर्च मात्रै भयो,’ राजश्व शाखा प्रमुख गणेश पाण्डेले भने, ‘एक-दुईपटक प्रस्ताव पनि लगेका थियौं । कार्यपालिकाले टेन्डरको निर्णय गरेको छैन ।’

सार्वजनिक निजी साझेदारी पोखराका लागि आम्दानी गर्ने क्षेत्र बनेन । केही समयअघि यहाँको फोहोरबाट विजुली निकाल्ने योजना अघि सारिएको थियो । तर अध्ययन सकेर पनि महानगरको असहयोगका कारण योजना फिर्ता गयो ।

प्रकाशित : ७ कार्तिक २०७८, आईतवार १४:२८