शाहरूखले बाल्कोनीबाट मोबाइल झारेपछि… « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रविधी

शाहरूखले बाल्कोनीबाट मोबाइल झारेपछि…



काठमाडौं। बलिउड अभिनेता शाहरूख खानलाई दर्शकले फिल्मको पर्दामा हेर्न नपाएको पनि तीन वर्ष हुन लागिसक्यो । उनी पछिल्लो पटक सन् २०१८ मा प्रदर्शन भएको ‘जिरो’ फिल्ममा प्रमुख भूमिकामा देखिएका थिए । त्यो फिल्म व्यावसायिक रूपमा असफल भएपछि उनले अर्काे फिल्ममा अभिनय गरेका छैनन् ।

कोरोनाका कारण हल बन्द भएकाले पछिल्लो समय बलिउडका थुप्रै स्टारहरू ओटीटी प्लेटफर्ममा देखिइसके । हलका लागि निर्माण गरिएको भए पनि अमिताभ बच्चन र आयुषमान खुरानाको ‘गुलाबो सितावो’ ओटीटीमा रिलिज भयो । सलमान खानले आफ्नो फिल्म ‘राधे’ पनि ओटीटीमै रिलिज गरे ।

त्यसैगरी, अक्षयकुमारको ‘लक्ष्मी बम’ र ‘बेल बटम’ पनि ओटीटीमै आयो । कंगना रनावतको ‘थलाइवी’ पनि ओटीटीमै आयो । नवाजुद्धिन सिद्धिकी, मनोज बाजपेयीजस्ता कलाकारलाई त ओटीटी स्टार नै बनाइदियो ।

तर, शाहरूख न ओटीटीमा देखिए, न हल न टिभीमै । लगातार फ्लप फिल्म दिएका कारण हिट फिल्मको चाहनामा रहेको शाहरूखलाई पनि दर्शकले ओटीटी प्लेटफर्ममा हेर्न चाहेका छन् । तर, शाहरूखले भने आफू ओटीटी प्लेटफर्मका लागि तयार भइनसकेको बताउने गरेका छन् । हालै उनी अभिनित डिज्ने प्लस हटस्टारको एउटा टेलिविज्ञापन प्रसारणमा आएको छ । उनका फ्यानहरूले उक्त विज्ञापनलाई पनि मन पराएर विभिन्न खालका प्रतिक्रिया दिइरहेका छन् ।

विज्ञापनमा शाहरूख आफ्ना सहायकका साथ घरको बाल्कोनीमा देखिएका छन् । तल उनका फ्यानहरू हुटिङ गरिरहेका छन् । शाहरूखले डिज्ने हटस्टारबाट फोन आयो ? भनेर सहायकलाई सोध्छन् । सहायकले आएको छैन भन्छन् । शाहरूखले तिमीले फोन गरेनौ ? भनेर सोध्छन् । सहायकले ‘गरेको हो, तर रिसिभ भएन, बिजी होलान् क्रिक्रेटमा’ भन्छ । त्यति नै बेला डिज्ने हटस्टारबाट सहायकको मोबाइलमा एसएमएस आउँछ । त्यसपछि शाहरूखले त्यो मोबाइल बाल्कोनीबाट तल झार्दिन्छन् ।

फिल्ममा नदेखिए पनि विज्ञापनमा शाहरूखलाई देख्दा भने उनका फ्यानहरू खुसी भइरहेको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

प्रकाशित : ७ आश्विन २०७८, बिहीबार २०:३२