घरभित्रै हुन्छन् ५० प्रतिशत अपराध « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

घरभित्रै हुन्छन् ५० प्रतिशत अपराध



सप्तरी । प्रदेश २ मा ५० प्रतिशत अपराध घरभित्रै हुने गरेको दाबी गरिएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक राजेन्द्र धमलाले ५० प्रतिशत अपराध सम्पत्तिका लागि घर परिवारबाटै हुने गरेको जानकारी दिए ।

महिला तथा बालबालिकासँग सम्बन्धित् अपराध तथा अनुसन्धान विषयमा प्रहरी हवल्दार र प्रहरी जवानका लागि पाँचौ तहको प्रदेशस्तरीय तालिम सञ्चालनको क्रममा गरिएको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले बालबालिका, महिला र ज्येष्ठ नागरिकलाई अघि सार्ने हुनाले उनीहरू बढी प्रताडित हुनुपरेकोले उनीहरूप्रति गम्भीर हुन निर्देशन पनि दिए ।

‘हामी जिम्मेवार भयौं भने आधा समस्या समाधान हुन्छ । हदम्याद गुजारे भने हामी पनि दोषी हुन्छौं’, उनले भने । पीडितलाई न्याय र पीडकलाई सजाय दिने गरी असफल अनुसन्धान गर्नुपर्नेमा जोड दिँदै उनले सफल अनुसन्धान भएन भने कारबाहीको भागीदार प्रहरी प्रशासन पनि हुने बताए ।

‘कहिले काहीँ दुबै पक्ष पीडित हुन्छ, दुबै पक्षको मुद्दा दर्ता गर्नुपर्ने हुन्छ । प्रमाणका आधारमा जो बढी दोषी देखिन्छ, उसले बढी र जो कम दोषी देखिन्छ । उसले कम सजाय पाउँछ’, नायव उपरीक्षक धमलाले भने ।

प्रदेश नं २ का प्रहरी तालिम केन्द्र सम्पर्क कार्यालय राजविराजका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) केदार ढकालले प्रहरीको पीडितलाई न्याय र पीडकलाई कानुन बमोजिम सजाय दिलाउनु उद्देश्य रहनुपर्ने बताए ।

सोह्र दिने तालिममा प्रदेश २ का ३० जना प्रहरी हवल्दार र प्रहरी जवान सहभागी छन् ।

प्रकाशित : ६ आश्विन २०७८, बुधबार १४:४७