उपाध्यक्ष श्रेष्ठको स्टिल उद्योगलाई फेवर नगर्ने बजेट आएपछि विरोध जनाउन अध्यक्ष गोल्छालाई दबाब « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

उपाध्यक्ष श्रेष्ठको स्टिल उद्योगलाई फेवर नगर्ने बजेट आएपछि विरोध जनाउन अध्यक्ष गोल्छालाई दबाब

बजेटमा प्रतिक्रिया विहीन महासंघ



काठमाडौं । स्पञ्ज आइरनको भन्सार शून्यमा झारेर देशभित्र औद्योगिक वातारण सिर्जना गरेका अर्थमन्त्री जनार्दन शर्माले ल्याएको बजेट स्वागत नगर्न नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अञ्जन श्रेष्ठले अध्यक्ष शेखर गोल्छालाई दबाब दिएको खुलेको छ ।
अन्य समय बजेट आएको भोलिपल्ट प्रतिक्रिया जनाउने महासंघ यसपटक देशमै औद्योगिक वातावरण बन्ने गरी ल्याएको बजेटको १२ दिनसम्म स्वागत गर्न सकेको छैन ।

शर्माले आर्थिक ऐनमार्फत स्पञ्ज आइरनको भन्सार ५ प्रतिशतबाट शून्यमा झारेपछि श्रेष्ठको उद्योग सिद्धि लक्ष्मी स्टिललाई समस्या पर्ने भएको र बजेटको विरोध गर्न दबाब दिए पछि अहिलेसम्म महासंघ प्रतिक्रिया विहीन भएको हो ।


नेपाल उद्योग वाणिज्य महासंघले तयारी वस्तु र कच्चा पदार्थको भन्सार एक तह फरक हुनुपर्ने आवाज लामो समयदेखि उठाउँदै आएको थियो । सोही अनुसार सरकारले यस पटक विलेट र स्पञ्ज आइरनको भन्सार ५ र शून्य गरेको हो । तर, उपाध्यक्ष श्रेष्ठले त्यसको विरोध गरेको र महासंघले नै सरकारले ल्याएको बजेटको विरोध जनाउनुपर्ने भन्दै अडान लिएका हुन् ।


सरकारले देशमा ब्याकवार्ड इन्ट्रिग्रेसनका देशलाई लैजाने उद्देश्यले तयारी वस्तु र कच्चा पदार्थको भन्सार ५ प्रतिशतको ग्याप गरेको हो । तर, अञ्जनका कारण महासंघले अहिलेसम्म स्वागत समेत गर्न नसकेको हो ।


श्रेष्ठले अध्यक्ष गोल्छालाई निरन्तर बजेटको विरोध गर्न दबाब दिएको बुझिएको छ । तर, कुनै समय श्रेष्ठ आफू उद्योग समितिको सभापति हुँदा कच्चा पदार्थ र तयारी वस्तुको भन्सार एक तह फरक हुनुपर्ने भन्दै उद्योग र अर्थ मन्त्रालयका प्रतिवेदन बुझाएका उद्योगी हुन् ।


तर, अहिले आफ्नै उद्योगमाथि लागू भएपछि कच्चा पदार्थको भन्सार घट्न नहुने अडानमा छन् । आफ्नो उद्योगमाथि पर्दा सरकारले गरेका नीतिगत निर्णयलाई अस्थिर निर्णय भन्ने र अन्य उद्योगको कच्चा पदार्थको भन्सार एक तह फरक गर्दा ब्याकवार्ड इन्ट्रिग्रेसनका देशलाई लैजान सहज हुने भन्ने उनको द्वय चरित्र देखिएको छ ।


अञ्जनको दबाबका कारण शेखरले समेत बजेटका बारेमा कुनै धारणा सार्वजनिक गर्न सकेका छैनन् । आफैले दिएको सुझावलाई अर्थमन्त्री शर्माले कार्यान्वयन गरेका हुन् । सुझाव कार्यान्वयन हुँदा कसरी विरोध गर्ने ? स्वातग गर्न अञ्जन श्रेष्ठ सहमत नभएको महासंघ स्रोतको भनाई छ । त्यही भएर बजेट आएको १२ दिन वित्तिसक्दा पनि महासंघले बजेटका बारेमा कुनै प्रतिक्रिया दिएको छैन् ।


नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले बजेट आएकै भोलिपल्ट बजेटको स्वागत गरिसकेको छ । मोटरसाइकलमा समेत सरकारले करका दरहरु हेरफेर गर्दा पनि परिसंघका अध्यक्ष विष्णु अग्रवालले बजेटको स्वागत गरे ।


बजेटले नेपालमा बाइक एसेम्बल्ड गर्ने उद्योगलाई सहयोग पुग्ने र आयात गर्नेलाई व्यवसाय गर्नै कठिन अवस्था बनाउँदा पनि अग्रवालले देशको हीतमा बजेट आएको भन्दै स्वागत गरे । तर, आफ्नो उद्योगलाई हीत गर्ने बजेट नआएको भन्दै महासंघका उपाध्यक्ष श्रेष्ठले बजेटको विरोध गर्न निरन्तर दबाब दिइरहेका छन् ।

प्रकाशित : ५ आश्विन २०७८, मंगलवार १८:०९