पाँचौं अन्तर्राष्ट्रिय महिला उद्यमीहरुको व्यापार मेलाको उद्घाटन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

पाँचौं अन्तर्राष्ट्रिय महिला उद्यमीहरुको व्यापार मेलाको उद्घाटन



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पाँचौं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला २०७८ को उद्घाटन गरे । भर्चुअल माध्ययमबाट उद्घाटन गरेपछि बोल्दै प्रधानमन्त्री देउवाले मेलाबाट कोरोना महामारीका कारण अस्थिर रहेको अर्थतन्त्रलाई उकास्न उद्यमशिलता र आर्थिक बिकासमार्फत टेवा पुग्ने बताए।


महासंघकी अध्यक्ष रिता सिम्हाले भर्चुअल माध्यमले महिला उद्यमीका उत्पादन विक्रिका लागि र्पयाप्त अवसर प्रदान गर्नुका साथै सञ्जाल निर्माण तथा शिप तथा ज्ञानको आदानप्रदानमा समेत मद्दत पुग्ने बताईन । नयाँ उत्पादन, सेवा तथा प्रविधिहरुलाईसमेत संगै जोडेर प्रभावकारी प्लेटफर्मको सृजना गर्दै सरोकारवाला तथा महिला उद्यमीहरु विच सम्वन्धको स्थापना र सञ्जालिकरण निमार्णमा समेत मेलाबाट प्रोत्साहन पुग्ने उनको भनाई रहेको छ ।

‘अहिलेको परिस्थितिमा आम नागरिकको दैनिकी डिजिटल बजारतर्फ आर्कषण भैरहेकाले आयोजना गर्न लागिएको र मेलाबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा देशका विभिन्न स्थानबाट उत्पादन भएका बस्तुको बजारीकरणमा बल पुग्नेछ ।’ उनले भनिन् ।


त्यस्तै, महासंघकी प्रथम उपाध्यक्ष नीरु राईमाझी खत्रीले महिला उद्यमीहरुको हौसला बढाउन र अन्र्तर्राष्ट्रिय बजारमा देशभर उत्पादन भएका वस्तुको व्यवसायलाई बढावा दिन भर्चुअल माध्यमबाट वस्तु तथा सेवाको प्रदर्शनी, प्रवद्र्घन, बजारीकरण र विक्रिका लागि एक साझा स्थल श्रृजना भएको बताएकी छन् ।


महासंघकी द्वितीय उपाध्यक्ष शोभा ज्ञवालीले महिला आर्थिक तथा सामाजिक सशक्तिकरण र रुपान्तरणका निम्ति पैरवी, वकालत, संजाल विस्तार, सुचनाको प्रवाह, क्षमता अभिवृद्वि र बजारीकरणमा मेलाले टेवा पु¥याउनेमा जोड दिईन् । महिला उद्यमशिलतामार्फत राष्ट्रको आर्थिक विकास, गरिवी निवारण, सामाजिक तथा आर्थिक सवालका सबै क्षेत्रमा महिला सहभागिता र सशक्तिकरणमा समेत जोड पुग्ने उनको दाबी छ ।


भाद्र २१ सम्म चल्ने मेलामा हस्तकलाका सामानहरु, स्वदेश तथा विदेशका प्राकृतिक रेशाजन्य वस्तु, ढाका तथा घरबुनाका सामानहरु, हाते कागजका वस्तुहरु, काष्ठजन्य वस्तुहरु, जैविक खाद्यपदार्थ, गरगहना, सजावटका सामान, विभिन्न सेवाप्रदायक संस्थाहरुका स्टलहरु हुनेछन् । मेलामा जम्मा ८० स्टलहरु रहेका छन् । ती मध्ये ५७ महिला उद्यमीहरुका स्टल र ३० जिल्ला महिला उद्यमी संघहरुलाई प्रतिनिधित्व गर्ने स्टल रहेका छन् । सधै झै दुईवटा स्टलहरु अग्नि पीडि़त र सामाजिक रूपले सीमान्तकृत महिला उद्यमीहरुलाई सीप प्रदान गर्ने संस्थालाई निशुल्क प्रदान गरिएको छ ।

प्रकाशित : १६ भाद्र २०७८, बुधबार २३:०७