सेबोन अध्यक्ष ढुंगानामाथि छानविन गर्न समिति गठन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

शेयर बजार

सेबोन अध्यक्ष ढुंगानामाथि छानविन गर्न समिति गठन



काठमाडौँ । सरकारले धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष भिष्मराज ढुंगानामाथि छानविन गर्न समिति गठन गरेको छ । धितोपत्र बजारको नियामक निकाय(सेबोन)को नेतृत्व लिएर आफ्नी छोरीको नाममा सेयर खरिद गरेको भन्दै विवाद भएपछि यसबारे छानविन गर्न सरकाले जाँचबुझ समिति गठन गरेको हो ।

सर्वोत्तम सिमेन्ट कम्पनीले बुक विल्डिङ विधिबाट मूल्य निर्धारण गरी आईपीओ जारी गर्ने तयारी गरेपछि अध्यक्ष ढुंगानाको संलग्नामा छोरीको नाममा उक्त कम्पनीको ११ हजार ९ सय १२ कित्ता सेयर खरिद गरिए (इन्साइडर टे«डिङ)को भन्दै विवाद भएको हो ।

यसबारे संसदको अर्थसमितिलाई भने ढुंगानाले विवाहीत छोरी एकाघरको परिवार नमानिने भएकोले छोरीको कारोबारमा आफूलाई मुछ्न नहुने जावाफ बोर्डका तर्फबाट पेश गर्न लगाएका थिए । तर, समितिले यो विषयमा चित्तबुझ्दो जवाफ नआएको बताएको थियो ।

उच्च अदालतका पूर्व न्यायाधीश अनन्तराज डुम्रेको अध्यक्षतामा मन्त्रिपरिषद् बैठकले गठन गरेको समितिमा विज्ञ सदस्यका रुपमा प्रा. नारायणप्रसाद पौडेल, कानुन आयोगका सहसचिव अर्जुनकुमार खड्का सदस्य रहेका छन् ।

आईपीओ जारी गर्ने तयारीमा रहेकाे सर्वाेत्तम सिमेन्टकाे सेयर श्रीमतिकाे नाममा किनेकाे विषयमा विवादमा परेपछि धिताेपत्र बजारकाे फ्रन्टलाइनर नियामक नेपाल स्टक एक्सचेन्ज लिमिटेडका प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले पदबाट राजीनामा दिइसकेका छन् ।

ढुंगानाले भने कानुनविपरीत काम नगरेकाे दाबी सहित आफूलाई बर्खास्त गर्न खाेजे अदालत जाने बताउँदै आएका छन् ।

प्रकाशित : 1 September, 2021 10:16 pm