काठमाडौं । पूर्वअर्थसचिव डा.शान्तराज सुवेदीले वर्तमान सरकारले ल्याएको बजेट कार्यान्वयनका लागि तीन वटा अध्यादेश तत्कालै ल्याउन जरुरी रहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आज भर्चुअल माध्यमबाट गरेको बजेट कार्यान्वयन र चुनौती विषयक अन्तरक्रियात्मक कार्यक्रममा बोल्दै डा. सुवेदीले सार्वजनिक खरिद ऐन सम्बन्धी अध्यादेश, आयोजना कार्यान्वयन सम्बन्धी अध्यादेश र आयोजना निर्माण तथा मुअब्जा व्यवस्थापनलाई सहजिकरण गर्नका लागि अध्यादेश ल्याउन पर्ने बताएका हुन ।
उनले भने, ‘सरकारले काम गर्नलाई आवश्यक पर्ने कानुन निर्माण गर्ने थलो प्रतिनिधिसभा नभएका बेलामा यो सरकारले बजेट नै अध्यादेशबाट ल्यायो अब यी थप अध्यादेशहरु ल्याएर बजेटले तय गरेका आयोजनाहरुको कार्यान्वयनलाई प्रभावकारी बनाउन सक्छ ।’
कार्यक्रममा बोल्दै उनले बजेटमा महत्त्वाकांक्षी भएकाले यसको कार्यान्वयनको पक्ष चुनौतीपूर्ण देखिएको बताए । बजेट कार्यान्वयन सुरु हुनेबेलामा चुनाव भए झन् कार्यान्वयनमा चुनौती हुन सक्ने र बजेटको स्वामित्व ग्रहणको विषय थपिने भएकाले पनि बजेट कार्यान्वयनमा थप चुनौति देखिन सक्ने उनको भनाइ थियो ।
Comment