काठमाडौं । राष्ट्रिय गौरवका सडकअन्तर्गतका आयोजना र प्राथमिकताप्राप्त राष्ट्रिय राजमार्गले विनियोजित बजेटले नपुग्ने बताउँदै थप १३ अर्ब रुपैयाँ बजेट माग गरेका छन् । राष्ट्रिय गौरवका सडक आयोजना काठमाडौं–तराई द्रुतमार्ग ९फास्ट ट्र्याक० र उत्तर–दक्षिण कोरिडोरबाहेक अन्य तीन राजमार्ग क्रमशः हुलाकी, मध्यपहाडी र मदन भण्डारी आयोजनाले थप बजेट मागेकाे खबर आर्थिक अभियान दैनिकमा छ ।
सरकारले चालू आर्थिक वर्ष (आव) २०७७/७८ का लागि विनियोजित बजेट अपुग हुने भन्दै प्राथमिकताप्राप्त आयोजना मदन भण्डारी राजमार्गमा ५ अर्ब, मध्यपहाडी राजमार्गमा ४ अर्ब र हुलाकी राजमार्गमा ४ अर्ब रुपैयाँ बजेट थप आवश्यक पर्ने देखिएको आयोजना प्रमुखहरूले बताएका छन् ।
गौरवकै आयोजनाका रूपमा घोषित द्रुतमार्ग र उत्तर–दक्षिण कोरिडोर भने विनियोजित बजेट नै खर्चिने तर थप रकम नमाग्ने पक्षमा छन् ।
सरकारले चालू आवमा अधिकांश ठूला पूर्वाधार आयोजनाको बजेटमा उल्लेख्य कटौती गरेको थियो । तर, विनियोजित बजेटले नपुग्ने भन्दै थप बजेट माग गरिएको आयोजना प्रमुख बताउँछन् ।
चालू आवको माघसम्म ३० किलोमीटर कालोपत्र सडक थप भएको मदन भण्डारी राजमार्गमा हालसम्म १ अर्ब ५० करोड रुपैयाँ बजेट खर्च भइसकेको आयोजना निर्देशक उमेशबिन्दु श्रेष्ठले बताए । कालोपत्र सडक र अन्य संरचनामा उक्त रकम खर्चिएको आयोजनाले यस वर्ष ३ अर्ब ७ करोड रुपैयाँ बजेट पाएको थियो ।
उक्त राजमार्गमा नयाँ ४९ ओटा पुलको ठेक्का व्यवस्थापन गर्नुपर्ने हुँदा र काम शुरू हुनासाथ रकम निकासा गर्नुपर्ने देखिएकाले थप बजेट माग गरिएको श्रेष्ठले जानकारी दिए । उक्त राजमार्गमा निर्माण हुने पुलमध्ये ३१ ओटा पुलको प्रधानमन्त्री केपी ओलीबाट केही दिनअघि शिलान्यास भएको थियो ।
Comment