दुई अर्बको लागतमा राष्ट्रिय खाद्य बैंक स्थापना,चाडै नै आईपीओ निष्काशन गर्ने तयारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

दुई अर्बको लागतमा राष्ट्रिय खाद्य बैंक स्थापना,चाडै नै आईपीओ निष्काशन गर्ने तयारी



काठमाडौं । राष्ट्रिय खाद्य बैंक स्थापना भएको छ । ‘पोसिलो आधारको लागि दिगो कृषि उत्पादन हाम्रो अभियान’ भन्ने मूल नाराका साथ २ अर्बको लागतमा स्थापना भएको यस खाद्य बैकले हरेक प्रकारका खाद्यान्न उत्पादनदेखि बजारीकरण तथा ‘होम डेलिभरी’सम्मका काम गर्ने छ ।

बैंकले सातै प्रदेशमा जग्गा भाडामा लिएर खाद्यान्न, फलफूल, हरियो तरकारी, माछा, मासु दहि, दुध, अण्डासहित नगदेबालीदेखि जडिबुटीसम्म आफै उत्पादन गरेर बिक्री वितरण गर्ने उद्देश्य लिएको छ ।

त्यस्तै, यस खाद्य बैकले चाडै नै आईपीओ निष्काशन गर्ने तयारी गरेको राष्ट्रिय खाद्य बैंकका अध्यक्ष शंकरनाथ उप्रेतीले बताएका छन् । ‘हामीले यो बैंक सामुहिक लगानीमा स्थापना गरेका हौं,’ पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष उप्रतीले भने ‘यो बैंकमा लगानी गर्न इच्छुक व्यक्तिले एक लाख रुपैयाँदेखि ३ करोड रुपैयाँसम्म लगानी गर्न सक्ने छन् । यसका साथै हामीले चाडै नै आईपीओ निष्काशन गर्ने तयारी पनि गरेका छौं ।’

सरकारी बाँझो जग्गा, सामुदायिक वन तथा गुठीका खाली जग्गाहरू, खोला छेउछाउका खाली जग्गा तथा बगर, विद्युत प्रशारण लाइन मुनीका खाली जग्गा लिजमा लिएर कृषि उत्पादन बढाउने अभियानमा बैंक लागेको उप्रेतीले बताए ।

‘अन्य बैंकहरुले पैसा लिने–दिने कारोबार गर्नुहुन्छ, हामीले सामान उत्पादन, भण्डारण तथा बजारिकण गरी उपभोक्तासमक्ष हामीले उत्पादन गरेको वस्तु पर्याउँछौं, मुख्य उद्धेश्य नै उत्पादनको काममा जोड दिने हो,’ उनले भने ।

देशलाई आत्मनिर्भर बनाउने अभियान स्वरुप स्थापना भएको बैंकमा अहिले २५० जना युवाहरू अवद्ध भइसकेका छन् ।

प्रकाशित : १० फाल्गुन २०७७, सोमबार १४:३१