कुमारी बैंकको लाभांश संशोधन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

कुमारी बैंकको लाभांश संशोधन



काठमाडौं । कुमारी बैंकले गत आर्थिक वर्ष २०७६÷७७ को लागि प्रस्ताव गरेको लाभांश संशोधन गरेको छ । बैंकले कुल लाभांश १४ प्रतिशत नै हुने गरी बोनसको दर बढाएर लाभांश संशोधन गरेको हो । बैंकको कात्तिक ५ गतेको सञ्चालक समितिको बैठकले १० प्रतिशत बोनस शेयर र ४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो । 

नेपाल राष्ट्र बैंकले उक्त लाभांश संशोधनका लागि निर्देशन दिएसँगै बैंकले १० दशमलव ८५ प्रतिशत बोनस शेयर र ३ दशमलव १५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । बैंकको कात्तिक २१ गतेको सञ्चालक समितिले संशोधन गर्ने निर्णय गरेको यो लाभांश प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारण सभाले पारित गरेपश्चात वितरण हुनेछ ।

देवः विकास बैंकलाई प्राप्ती गरी असार २८ गतेदेखि एकिकृत कारोबार सुरु गरेको यस बैंकका शेयरधनीहरुले यो वर्ष करमा छ्ट पाउनेछन् । प्राप्ती प्रकृया पुरा गरेको यस बैंकले यस वर्ष बोनस शेयरमा लाग्ने कर वापतको रकममा छुट पाउनेछ । यसर्थ कुमारी बैंकका शेयरधनीहरुले १४ प्रतिशतनै लाभांश हात पार्नेछन् ।

 हाल बैंकको चुक्तापूँजी  १२ अर्ब ५२ करोड ४९ हजार रुपैयाँ रहेको छ । गत असार मसान्तसम्म बैंकले  १ अर्ब २२ करोड ६५ लाख ५९ हजार  रुपैयाँ खुद नाफा गरेको छ । सो अवधिसम्म बैंकको वितरणयोग्य नाफा ७१ करोड २८ लाख ८३ हजार रुपैयाँ थियो । गत वर्ष भन्दा यो वर्ष कुमारी बैंकको लाभांशमा भने बृद्धि भएको छ । गत वर्ष यस बैंकले १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश दिएको थियो । 
 

प्रकाशित : २३ कार्तिक २०७७, आईतवार ११:४४