९२ अर्ब ७१ करोड रुपैयाँ रेमिट्यान्स भित्रियो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

९२ अर्ब ७१ करोड रुपैयाँ रेमिट्यान्स भित्रियो



काठमाडौं । विदेशबाट नेपाल भित्रिने रेमिट्यान्स २३ प्रतिशतले बढेको छ । गत आर्थिक बर्षको २०७६।०७७ को पहिलो महिना अर्थात साउन महिनाको तुलनामा चालु आव ०७७।०७८ को साउन महिनामा २३ प्रतिशतले बढी रेमिट्यान्स भित्रिएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

चालु आवको पहिलो महिनामा नेपालमा कुल ९२ अर्ब ७१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । जुन गत आवको सोही महिनामा भित्रिएको भन्दा २३ प्रतिशत बढी हो । गत आवको पहिलो महिनामा कुल ७५ अर्ब ४० करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको थियो । गत अवको पहिलो महिनामा भने नेपालमा भित्रने रेमिट्यान्स २ प्रतिशतले वृद्धि भएको थियो ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह अघिल्लो महिनामा भन्दा जम्मा २ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १४.५ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ०.७ प्रतिशतले बढेको थियो ।

साउनमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ९९.२ प्रतिशतले घटेको राष्ट्र बैंकले बताएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १९.० प्रतिशतले घटेको थियो ।

राष्ट्र बैंकका अनुसार वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ८०.० प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १.३ प्रतिशतले घटेको थियो ।

प्रकाशित : ९ आश्विन २०७७, शुक्रबार १९:३८