इन्टरनेटको प्रयोग बढ्यो, कन्टेन्टमा लगानी आवश्यक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रविधी

इन्टरनेटको प्रयोग बढ्यो, कन्टेन्टमा लगानी आवश्यक



काठमाडौं । विश्वव्यापी कोभिड-१९ का कारण नेपालमा पनि इन्टरनेटको प्रयोग बढ्दै गएको छ। लकडाउन अगाडिको तुलनामा अहिले डाटा उपभोगको प्रवृत्ति पनि परिवर्तन भएकोले कन्टेन्टमा लगानी बढाउन आवश्यक भएको सरोकारवाला पक्षले बताएका छन्।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको कोभिड महामारीमा दूरसञ्चार क्षेत्रले खेलेको भूमिका, प्रभाव र अबको बाटो के हुने भन्ने विषयमा भएको भर्चुअल अन्तक्रियामा वक्ताहरुले ई–लर्निङदेखि भर्चुअल बैठक, अध्ययन सामग्री, मनोरञ्जनजस्ता नयाँ क्षेत्रको जानकारी लिने माध्यम नै इन्टरनेट भएकोले कन्टेन्ट सुधारमा जानु आवश्यक भएको नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक विजयकुमार रोयले बताए।

कोभिड कारण डाटा उपभोग सहरी क्षेत्रमा अत्यधिक बढेको र ग्रामीण क्षेत्रमा कनेक्टिभिकै समस्या रहकोले डिजिटल डिभाइडको समस्या बढेर जाने आशंकासमेत बढेको छ।

ग्रामीण दूरसञ्चार विज्ञ पवन शाक्यले शहरको तुलनामा गाउँमा केनेक्टिभी र कनेन्ट दुबैको अवस्था दयनीय भएको बताए। शहरमा सेवा छनोटको अवसर छ, कन्टेन्टमा पनि खोज्न र बुझ्न सक्ने जनमानस धेरै छ। अबको फोकस ग्रामीण क्षेत्रमा गर्नुपर्ने अवस्था आएको उनले बताए। यदि ग्रामीण क्षेत्रको सेवामा ध्यान दिन सकिएन भने भोलिका दिनमा गाउँ र सहरमा हुने डिजिटल डिभाइडले ठूलो रुप लिने हुँदा सचेत हुन पनि आग्रह गरे।

नेपाल टेलिकममा प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले कनेक्टिभिटीको सवालमा कर्णाली प्रदेश, हिमाल र उच्च पहाडी क्षेत्रमा प्राधिकरण अन्तर्गत रहेको ग्रामीण दूरञ्चार कोष परिचालन गरी कनेन्टिभिटीमा सहजीकरण गरिनुपर्ने बताए। धेरै बस्ती भएको क्षेत्रमा सेवा प्रदायकले आफैँ सेवा विस्तार गर्छन् जहाँ अप्ठेरो छ त्यो ठाउँमा सरकारले सहजीकरण गर्नुपर्ने उनको भनाइ छ।

उनले कोषको रकम ग्रामिण क्षेत्रकै लागि भनेर सबै सेवा प्रदायकबाट आम्दानीको दुई प्रतिशत रकम जम्मा गर्ने गरकोले सो रकम निर्धारित काममै खर्च गर्नुपर्ने बताए। हाल यो कोषको रकम सरकारले चालू खातामा जम्मा गरेको छ। ग्रामीण क्षेत्रमा कोषको रकम उच्चतम प्रयोग गर्न सकियो भने कन्टेन्टमा पनि एक चरण पार गर्न सहज हुने उनको अनुभव छ।

एनसेल आजियटाका प्रमुख कार्यकारी अधिकृत एन्डी छङले कोभिडपछि ग्राहकहरुमा सेवा लिने प्रवृत्ति परिवर्तन भएको बताए। डाटा सेवा प्रयोग बढेको भन्दै अब एनसेलले यसमा लक्षित गरी आफ्ना कार्यक्रमहरु ल्याउने तयारी गरेको उनले जानकारी दिए।

पछिल्लो प्रविधि फाइभ जीमा पनि केही सकारात्मक प्रविधिको विकासलाई नेपाली प्रयोगकर्तासम्म अनुभव गराउन ढिला नगर्ने खालको संकेत दिए। उनको कोभिडका समयमा सरकारसँग नजिक रहेर काम गरेको तथा सहयोग रकम समेत उपलव्ध गराएको बताए।

उनले व्यवसायिक सामाजिक उत्तरदायित्व अन्र्तगत स्कुल शिक्षा, स्वास्थ्य सामाग्री, कोभिडसम्बन्धी जनचेतना, फ्रन्टलाइनमा बसेर काम गर्नेहरुलाई सिमकार्ड वितरण लगायतका कार्यहरु गरेको बताए।

इन्टरनेट सेवा प्रदायक संघका अध्यक्ष भोजराज भट्टले लकडाउनमा इन्टरनेट व्याण्डविथ खपत ४० प्रतिशतसम्म वृद्धि भएको भन्दै उपभोक्ताको रुची र प्रयोग फेरिएको बताए।

पछिल्लो समयमा चर्चित बनेको सामाजिक सञ्जाल टिकटकले सेवा प्रदायकहरुलाई व्याण्डविथ व्यवस्थापनमा धौधौ परेको भन्दै यसमा केही सोच्न पनि नियामक निकायसमक्ष उनले आग्रह गरे।

यसमा प्राधिकरणका निर्देशक रोयले राज्य र उपभोक्तालाई टिकटकले के दियो, यसको प्रयोग गर्दा र नगर्दा वा भनौँ नेपालमा प्रवेश गरेर सिधै सेवा दिने सम्बन्धमा अध्ययन गरिहरेको र छिट्टै केही ठोस निर्णय लिने बताए।

प्रकाशित : २६ भाद्र २०७७, शुक्रबार ०७:३१