काठमाडाै । नेपाल विद्युत प्राधिकरणको जिम्मेवारी फेरि कुलमान घिसिङलाई नै दिने विषयमा प्रधानमन्त्री केपी शर्मा ओली ‘सकारात्मक’ देखिएका छन्।
दैनिक १४ घन्टासम्मको लोडसेडिङ हटाउँदै विद्युत प्राधिकरणलाई नाफामा लगेका कार्यकारी निर्देशक घिसिङको चार वर्षे कार्यकाल भदौ २९ मा सकिँदैछ। यही विषयमा केही दिनअघि विभागीय (ऊर्जा, जलस्रोत तथा सिंचाइ) मन्त्री वर्षमान पुनले सत्तारुढ नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर कुरा राखेका थिए।
सम्बद्ध स्रोतका अनुसार उक्त भेटमा अध्यक्ष प्रचण्डले कुलमानलाई नै दोहोर्याउने गरी प्रस्ताव तयार पार्न निर्देशन दिएका थिए। प्रचण्डको निर्देशनपछि मन्त्री पुनले घिसिङलाई नै दोहोर्याउने गरी प्रस्ताव तयार पारेका छन्।
सम्बद्ध स्रोतका अनुसार प्रचण्ड सुरुवातदेखि नै कुलमानलाई नै प्राधिकरणमा निरन्तरता दिनुपर्ने पक्षमा छन्। उनको सहमतिमा ऊर्जाले कुलमानको प्रस्ताव तयार पारेको छ।
उक्त प्रस्तावबारे विस्तृतमा नबोले पनि मन्त्री पुनले प्राधिकरणको जिम्मेवारी फेरि घिसिङलाई दिनेबारे प्रधानमन्त्री ओलीसँग कुरा भने राखिसकेको बताए। आयोमेलडटकमबाट साभार
Comment