काठमाडौं । नजिकिँदै गरेको दशैं र तिहारका लागि आवश्यक पर्ने तयारी पोशाक आयात गर्ने कि नगर्ने भन्नेमा व्यापारीहरू नै यति बेला अन्योलमा छन् ।
कोरोना संक्रमण नियन्त्रणका लागि गरिएको ४ महीना लामो बन्दाबन्दीले व्यापार व्यवसायमा परेको नकारात्मक असर र हालको निषेधाज्ञाका कारण चाडपर्वका निम्ति आवश्यक लत्ताकपडा (तयारी पोशाक) आयात गर्ने कुरामा व्यापारीहरू अनिर्णीत अवस्थामा छन् ।
विगत वर्षमा व्यापारीहरूले दशैंतिहार लक्षित गरी छिमेकी चीन र भारतबाट मात्रै करीब ३० अर्ब नेपाली रुपैयाँ बराबरको तयारी कपडा आयात गर्र्थे । त्यसका लागि उनीहरूले साउनबाटै तयारी शुरू गरेका हुन्थे । तर, यस वर्ष कोरोनाका कारण औद्योगिक, व्यवसाय र जनजीवनै ठप्प भएसँगै व्यापारीमा अन्योल सृजना भएको छ । यसले गर्दा चाडपर्वका बेला बजारमा तयारी लुगाको अभाव हुन सक्ने व्यापारीहरूको अनुमान छ ।
लामो समयदेखि नेपाल–चीन व्यापारमा संलग्न राष्ट्रिय व्यापार संघ न्यूरोडका कोषाध्यक्ष रामचन्द्र पराजुलीका अनुसार व्यापारीहरूले गर्मी मौसमका लागि आयात गरेका करीब ५ सय कन्टेनर लत्ताकपडा ६ महीनादेखि केरुङ नाकामै रोकिँदा अन्योल देखिएको हो ।
‘गर्मी मौसमका लागि आयात गर्न लागिएका पोशाक खरीदमा व्यापारीहरूको करोडौं रुपैयाँको लगानी परेको छ । ती सामान नेपालमा कहिले आउँछन् भन्नेमा अहिलेसम्म कुनै टुंगो लाग्न सकेको छैन । पुरानै लगानी नाकामा अलपत्र छ,’ पराजुलीले भने, ‘त्यसमाथि ती सामानको उपयोगिता सकिने सम्भावना पनि उच्च छ । यस्तो बेला कसरी चाडबाडका लागि नयाँ लुगा आयात गर्ने ?’ सरकारी पहल नहुँदा महीनौंदेखि नाकामा सामान रोकिँदा बिग्रने सम्भावनासमेत बढेको चीन व्यापारमा संलग्न व्यवसायीहरू बताउँछन् । यसअघि बन्दाबन्दी खुलेका बेला व्यापारीहरूले अनलाइनमार्फत चिनियाँ व्यापारी (एजेन्टहरू)सँग तयारी कपडाका डिजाइन छनोट गरेर आयात गर्ने तयारी गरेका थिए । त्यति बेला पोशाक व्यापारीहरूले हालको अवस्थालाई ख्याल गर्दै करीब ४० प्रतिशत मात्र लत्ताकपडा आयातका लागि अर्डर गरेको बताइन्छ ।
तर, पछिल्लो समय काठमाडौं उपत्यकालगायत देशैभर कोरोना बढ्दै भएकाले व्यापार व्यवसाय ठप्प भएपछि अब कसरी अगाडि बढ्ने भन्नेमा व्यापारीहरू चिन्तित छन् ।
अन्य समयभन्दा दशैंतिहारका बेला जुत्ता, चप्पल र कपडा व्यापारमा करीब ४० प्रतिशतले वृद्धि हुन्छ । तर, यो वर्ष कोरोना महामारीले चाडपर्वका लागि तयारी पोशाक आयात अन्योलमा परेको छ । यस्तै, लत्ता कपडा आयात गरिहाले पनि करीब २० प्रतिशत मात्रै व्यापार हुनसक्ने नेपाल उद्योग वाणिज्य महासंघका मेला समिति सभापति दिलसुन्दर श्रेष्ठ बताउँछन् ।
महामारीका कारण सर्वसाधारणको रोजीरोटी गुमेको र आम्दानीको स्रोत बन्द भएकाले दशैंतिहारका बेला लत्ताकपडाको व्यापार नबढ्ने उनको दाबी छ ।
सरकारले भदौ १६ देखि नियमित उडान शुरू गर्ने निर्णय गरेको छ । तर, हवाई मार्गमार्पmत कपडा आयात गर्दा हालको अवस्थामा हवाई भाडा महँगो पर्ने भएकाले त्यो सम्भव नहुने व्यापारीहरू नै बताउँछन् । अहिलेको जटिल अवस्थाको अन्त्य कहिले हुन्छ भन्ने टुंगो नलाग्दा पनि व्यवसायीमा अन्योल बढेको नेपाल वैदेशिक व्यापार संघका निवर्तमान अध्यक्ष हिमबहादुर रावलले बताए ।
Comment