काठमाडाै । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य आकासिएको भन्दै नेपाल आयल निगमले मूल्य बढाउने तयारी गरेको छ ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेसँगै भारतमा डिजेलको भाउ दिनप्रति दिन बढेपछि अगष्टमा मूल्य बढाउने तयारी भएको जनाइएको छ ।
भारतमा डिजेलको मूल्य बढ्दा प्रत्यक्ष असर नेपालमा पर्न थालेपछि निगमलाई पेट्रोल, डिजेल लगायतका पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्नुपर्ने दबाब बढेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।
उनका अनुसार अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य आकासिनु, भारतसँग सीमा जोडिएका नाकामा मूल्यान्तर बढेर जानु, निगमको घाटा एकपछि अर्को बढेर जानु, विगतमा अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा नेपालले स्वचालित मूल्य समायोजन नगर्नु जस्ता कारणले निगम मूल्य बढाउनैपर्ने दबाबमा पुगेको हो ।
पेट्रोलियम पदार्थमा अन्तर्राष्ट्रिय बजारमा आउने फेरबदलअनुसार नेपाल आयल निगमले प्रत्येक १५/१५ दिनमा मूल्य समायोजन गर्दै आएको थियो । अहिले काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १०२ रुपैंया र डिजेल तथा मट्टितेलको मूल्य १०२ रुपैंया र ८८/८८ रुपैंया छ ।
Comment