एशियाको आर्थिक वृद्धिदर ६० वर्षयताकै न्यून, नेपाल पनि प्रभावित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

एशियाको आर्थिक वृद्धिदर ६० वर्षयताकै न्यून, नेपाल पनि प्रभावित



काठमाडौं । एशियाली विकास बैंक (एडीबी) ले एशियाली अर्थतन्त्रको वृद्धिदर संशोधन गर्दै चालू वर्ष नेपालले आर्थिक वृद्धिदर २ दशमलव ३ प्रतिशतमा सीमित हुने बताएको छ ।

यसअघि नेपाल सरकारले पनि २ दशमलव ३ प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुने अनुमान सार्वजनिक गरिसकेको छ ।
गत वर्ष ७ प्रतिशतको वृद्धिदर हासिल भएकोमा नेपालको यो वर्ष ५ दशमलव ३ प्रतिशतले अर्थतन्त्र विस्तार हुने एडीबीको शुरुवाती आँकलन अहिले आएर त्यसलाई संशोधन गरिएको हो ।

त्यस्तै एशियाली विकास बैंकले एशियाको आर्थिक वृद्धिदर गएको ६० वर्षयताकै न्यून हुने प्रक्षेपण गरेको छ । कोरोना भाइरसका कारण आर्थिक गतिविध प्रभावित भएकाले वृद्धिदर शून्य दशमलव १ प्रतिशतमा सीमित हुने बैंकले प्रक्षेपण गरेको हो ।

यसअघि यो क्षेत्रको वृद्धिदर २ दशमलव २ प्रतिशत कायम हुने अनुमान गरेको बैंकले प्रक्षेपण संशोधन गरेको हो । यो वर्षको वृद्धिदर सन् १९६१ यताको न्यून हुने बैंकले जानकारी दिएको छ । एशियाका अधिकांश उपक्षेत्रको वृद्धिदर सुस्त हुने बैंकले प्रक्षेपण गरेको छ ।

एडीबीले सन् २०२० मा पूर्वी एशियाको वृद्धिदर १ दशमलव ३ प्रतिशतमा सीमित हुने बताएको छ । यसअघि अप्रिलमा २ दशमलव ३ प्रतिशतले अर्थतन्त्र विस्तार हुने प्रक्षेपण गरिएको थियो । यो क्षेत्रमा सन् २०२१ देखि सुधार आउने अनुमान बैंकले गरेको छ ।

त्यस्तै एडीबीले दक्षिण एसियाको वृद्धिदर सन् २०२० मा ३ प्रतिशको वृद्धि हुने अनुमान गरेको छ ।

प्रकाशित : ४ असार २०७७, बिहीबार १६:३८