काठमाडौं । कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा हालसम्म ८ अर्ब ८० करोड रुपैयाँ बराबरको रकम संकलन भएको छ । सरकारले करीब १० अर्ब रुपैयाँ खर्च भएको दाबी गरेको छ ।
तर सरकारले कोरोना रोकथाममा विपद व्यवस्थापन कोषको रकम भने खर्च गरेको छैन । संघीय, प्रदेश र स्थानीय तहसमेतको गरी जम्मा ८ अर्ब ८० करोड रुपैयाँ रकम जम्मा भएको हो ।
महालेखा नियन्त्रक कार्यालयका अनुसार संघीय कोरोना कोषमा २ अर्ब ३१ करोड, प्रदेश कोरोना कोषमा १ अर्ब ९९ करोड र स्थानीय तहमा करिब ४ अर्ब ५० करोड रुपैयाँ जम्मा भएको छ । त्यसमध्ये हालसम्म कोरोना संक्रमण रोकथामका लागि ९ अर्ब ७६ करोड रुपैयाँ निकासा भएको गरिएको छ ।
निकासा भएको रकम बजेटरी खर्चसमेत समावेश छ । कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले हालसम्म ९ अर्ब ८७ करोड रुपैया खर्च भएको जनाएको छ । निकासा भएको रकममा सरकारी तथा गैरसरकारी संघ संस्था र विकास साझेदारको खर्च जोडिएको छैन ।
राहत वितरण, स्वास्थ्य सामग्री खरिद लगायतकामको शीर्षगत रुपमा के कति खर्च भयो भन्ने विवरण महालेखा नियन्त्रक कार्यालयले तयार गर्दैछ । विपद् व्यवस्थापन कोषको रकम पनि कोरोना कोषमा ल्याइने ठोस रुपमा काम भने हुन सकेको छैन ।
७ सय ५३ स्थानीय तहमध्ये ६ सय २१ स्थानीय तहको मात्रै खर्चको विवरण आएको छ । अन्य १३१ वटा स्थानीय तहको खर्च विवरण आए खर्च अझै बढ्ने कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले जनाएको छ ।
करिब १० अर्ब हाराहरीमा सरकारले कोरोना रोकथामको लागि खर्च गरेको बताए पनि त्यसको प्रभावकारी परिणाम भने देखिएको छैन । साढे २ महिना भन्दालामो लकडाउनका बाबजुद पछिल्ला दिनहरुमा कोरोना संक्रमितको ग्राफ रफ्तारले उकालो लागिरहेको छ भने मानिसको मृत्यु हुने क्रम पनि बढेको छ ।
Comment