काठमाडौंमा लकडाउन कडाः ठाउँ ठाउँमा ‘चेक प्वाइट’, सयौं गाडी फिर्ता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

काठमाडौंमा लकडाउन कडाः ठाउँ ठाउँमा ‘चेक प्वाइट’, सयौं गाडी फिर्ता



काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या बढेपछि सरकारले बिहीबारदेखि ‘लकडाउन’मा पुनः कडाइ गरेको छ ।

बिहीबारदेखि अत्यावश्यक काममा बाहेक एक जिल्लाबाट अर्को जिल्लामा जान रोक लगाइएको छ । अत्यावश्यक सेवाका लागि प्रस्थान र पुग्ने दुवै जिल्लाका ‘सीडीओ’को अनुमति लिनुपर्नेछ ।

लकडाउन कडा गर्ने सरकारी निर्णयसँगै काठमाडौं उपत्यका भित्रिने मुख्य नाका नागढुंगामा सवारी–साधनको चेकजाँचमा विशेष निगरानी गरिएको छ ।

तोकिएको समयभित्रै नआएको भन्दै विभिन्न जिल्लाबाट आएका पासवाहक सवारी–साधनलाई फिर्ता पठाइएको छ । लकडाउनमा कडाइ गरिएसँगै राजधानीको सडकमा गुड्ने सवारी–साधनको संख्या पनि निकै घटेको छ ।

प्रहरीले विभिन्न ठाउँमा ‘चेक प्वाइट’ खडा गरी अनावश्यकरुपमा सडकमा निस्किएका ठूलो परिमाणमा दुईपांग्रे सवारी–साधन नियन्त्रणमा लिइएको छ ।

केही दिनअघि झन्डै दिनभरजस्तो खुल्न थालेका पसलहरु बन्द देखिन्छन् । अबका दिनमा उपत्यकाको सुरक्षालाई थप कडा बनाउने सरकारी योजना छ ।

सरकारले विभिन्न नाकाहरुमा कडाइ गरेपनि मानिसहरु अझैपनि विभिन्न बहानामा काठमाडौं उपत्यका भित्रने प्रयास गरिरहेको पाइएको छ ।

काठमाडौंमा लकडाउन नै नरहेको भन्दै प्रधानमन्त्रीले कडा गर्न आदेश दिएलगत्तै गृह मन्त्रालयले सुरक्षा निकायका प्रमुख र नागरपालिकाका मेयरहरुलाई बोलाएर कडा पार्न लागेको हो ।

प्रकाशित : १ जेष्ठ २०७७, बिहीबार २१:००