भक्तपुर । भक्तपुरको मध्यपुर थिमिमा मासु व्यवसायीले कालोबजारी गरेको भेटिएको छ ।
उपभोक्ताको उजुरीको आधारमा मध्यपुर थिमि नगरपालिकाले छड्के चेकजाँच गर्दा मासु व्यवसायी बेखानारायण खड्गीले चलनचल्तीको भन्दा बढी मूल्यमा राँगाको मासु बेचेको भेटिएको थियो ।
खड्गीले ३ सय ५० रूपियाँ प्रति केजीमा बिक्री वितरण हुँदैआएको मासुलाई पाँच सय भन्दा बढी मूल्यमा बेचेको प्रत्यक्षदर्शीलाई उदृढ गरि मध्यपुर सञ्चार समाजका अध्यक्ष बाबुकाजी साःछेँ श्रेष्ठले बताए । साधारणतया फिला मात्र छानेर लिँदा ४ चार सय रुपैंयाँ र समग्रमा तौलिएर लिँदा प्रतिकेजी राँगाको मासु ३ सय ५० निर्धारण गरिएको छ ।
बिस्केट चाडसँगै थिमिका स्थानिय बासिन्दाहरूको आज घरघरमा नखः मनाउन अनिवार्य मासु भित्र्याउनुपर्ने परम्परा छ । त्यहि भएर पनि खड्गीको पसलमा आज बिहानै देखि उपभोक्ताको भीड लागेको थियो ।
मासु उपभोक्ताहरूको भीड तथा बिस्केट चाडको मौकामा खड्गीले मासुमा कालोबजारी गरेको नाउँ नबताउने सर्तमा स्थानिय एक उपभोक्ताले जनाए । लकडाउनको आदेशलाई अवज्ञा गर्दै भीडभाड गरेको र निर्धारित मूल्य भन्दा बढीमा मासु बेच्न थालेपछि उपभोक्ताले प्रहरी तथा अनुगमनकर्तालाई उजुरी दिएका थिए ।
मध्यपुरको बालकुमारीस्थित मासु पसलमा उपमेयर अञ्जनादेवी मधिकर्मीको नेतृत्वमा छड्के अनुगमन गरिएको थियो । अनुगमनको क्रममा कालोबजारी गरेका खड्गीलाई अब उप्रान्त मासुको मूल्यमा अनियमितता नगर्ने सर्तमा छोडिएको छ ।
Comment