दैनिक ५० पर्यटकलाई निःशुल्क भोजन गराउँदै रेबान « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

विविध

दैनिक ५० पर्यटकलाई निःशुल्क भोजन गराउँदै रेबान




काठमाडौं । लकडाउनको समयमा रेस्टुरेन्ट एण्ड बार एशोसिएसन नेपाल (रेबान) ले दैनिक ५० जना पर्यटकलाई निःशुल्क भोजन गराइरहेको छ।

लकडाउनका कारण काठमाडौंमा अड्किएका र स्वदेश फर्कन नपाएका पर्यटकलाई रेबानले बिहान(बेलुकाको खाना खुवाउने व्यवस्था गरिरहेको हो।

रेबानका अध्यक्ष अरनिको राजभण्डारीका अनुसार, ठमेलको लाबेला र नर्थ फिल्ड रेस्टुरेन्टमा पर्यटकलाई खाना खुवाउने व्यवस्था मिलाइएको छ।

नेपाल घुम्न आएका ती पर्यटक स्वेदश फर्कन नपाएको र खर्च पनि सकिएको गुनासो बढेपछि रेबानले आफ्ना सदस्य रेस्टुरेन्टको सहयोगमा खानाको व्यवस्था मिलाएको राजभण्डारीले बताए।

अलपत्र परेका पर्यटकको सहयोगका लागि रेबानले सदस्य रेस्टुरन्टबाट रु.१० हजारदेखि १५ हजारसम्म सहयोग संकलन गरेको छ। रेस्टुरेन्ट व्यवसायीले उपलब्ध गराएको यही सहयोग रकमबाट अलपत्र पर्यटकलाई भोजनको व्यवस्था गरिएको राजभण्डारीले बताए ।

लकडाउनका बेला निशुल्क खानाको व्यवस्था गर्ने रेष्टुरेन्ट तथा क्याँफेका संचालक र कर्मचारीहरुलाई एक विज्ञप्तिमार्फत बधाइ तथा धन्यवाद ज्ञापन गरिएको रेबानमा महासचिब एकराज अधिकारीले जानकारी दिए । उनीहरुको मनोबल उच्च बनाउन र प्रोत्साहित गर्न रेबानले विशेष कदम चालेको महासचिब अधिकारीले बताए । रेबानमा करीब चार सय रेस्टुरेन्ट सदस्य छन्।

उपत्यका बाहिर अलपत्र रहेका पर्यटकलाई नेपाल पर्यटन बोर्डको समन्वयमा काठमाडौं ल्याएको थियो । बोर्डले उद्धार गरेर काठमाडौं ल्याएका १७ सय २१ पर्यटकमध्ये कतिपय सम्बन्धित देशले गरेको चार्टर उडान मार्फत स्वेदश फिर्ता भएका छन्।

बोेर्डका कर्मचारीले अलपत्र पर्यटकलाई खाना खुवाउने रेबानको अभियानमा सहयोग गरेका छन्।
बोर्डका कर्मचारीले तलबबाट कट्टी गरिएको रु.१ लाख नगद पर्यटकलाई खाना खुवाउन सहयोग स्वरुप रेबानलाई उपलब्ध गराएको जनाइएको छ।

प्रकाशित : ३० चैत्र २०७६, आईतवार ०९:४१