वैदेशिक रोजगारीको लागि विदेशमा हुनुहुन्छ र नेपाल फर्किन खोज्दै हुनुहुन्छ पक्कै पनि सामानहरू के के ल्याउने भन्ने सोचिरहनुभएको होला । सामान ल्याउने कुरा सोच्ने सँगै के के कुराहरूमा भन्सार लाग्छ वा लाग्दैन वा लाग्छ भने के कति लाग्छ भन्ने कुराहरू पनि बुझ्नु जरुरी हुन्छ । यो लेखमा हामी तपाईँलाई सहयोग हुनेगरी ती विषयहरूमा कुराकानी गर्नेछौ ।
विदेशबाट फर्केका नेपाली यात्रुले के के सामानहरू ल्याउन पाउँछन् ?
लुगाफाटा, वरविछ्यौना, विदेशमा बस्दा चलाएका पुराना सामानहरू
औषधी उपचार गराई फर्केका बिरामीले ल्याएका औषधीहरू
शारीरिक अशक्त यात्रुले सहाराको रूपमा प्रयोग गरेका सामान
सुनको गहना पचास ग्रामसम्म, चाँदीको गहना पाँचसय ग्राम र एक लाख रुपैयाँ सम्मको जवाहरात जडित साथमा ल्याएको गहना गुरिया
घडी/स्टिल क्यामेरा, भिडियो क्यामेरा, मोबाइल फोन, पेन ड्राइभ एक एक थान
बच्चा राख्ने पेराम्वुलेटर र ट्राइसाइकल एक एक थान
पेशागत यात्रुले प्रयोग गरी ल्याएको सामान्य प्रकारका सामान एक एक थान
सात किलोग्राम सम्म खानेकुरा
मदिरा १ लिटरसम्मको एक बोतल
भन्सार महसुल छुट हुने भन्दा बढी परिमाणमा ल्याएमा के हुन्छ ?
मदिराको हकमा जफत हुन्छ भने अरू उल्लेख भएका सरसामानको हकमा औचित्य हेरी स्वीकृति दिन सक्ने व्यवस्था छ ।
औचित्य पुस्टि भएन भने मदिरा जफत हुन सक्छ ।
विदेशमा बसी फर्केका नेपाली यात्रु, गैर आवासीय नेपाली यात्रु एवं विदेशी यात्रुहरूले सुन र चाँदी के कति ल्याउन पाउँछन् ?
विदेशबाट नेपाल आउने नेपाली, गैर आवासीय नेपाली वा विदेशी कुनै पनि यात्रुले सुन तथा चाँदी ल्याउन पाउने छैनन् ।
तर नेपाली र गैर आवासीय नेपालीले सुनको गहना पचास ग्रामसम्म, चाँदीको गहना पाँचसय ग्रामसम्म र एक लाख रुपैयाँ मूल्यसम्मको जवाहरात जडित सुनका वा चाँदीका गहना लिई आउन पाउनेछन्।
काँचो सुन वा चाँदीको हकमा कुनै पनि यात्रुले महसुल तिरेर पनि ल्याउन पाउने छैनन् ।
ल्याएको फेला परेमा त्यस्तो सुन वा चाँदी जफत गरी त्यसको मूल्य बराबर जरिवाना र १० लाखभन्दा रुपैयाँभन्दा बढी मूल्यको सुन वा चाँदी फेला परेमा कैद समेत हुनेछ। विदेशबाट आफू फर्किसकेपछि पनि सामान ल्याउन (मगाउन) पाइन्छ ?
पाइन्छ । तर नेपालमा स्थायी बसोबास गर्ने नेपाली नागरिक विदेशमा गई नेपाल फर्कँदा आफू आउनु अघि वा पछि चलान गरेको भएमा आफू नेपाल प्रवेश गरेको मितिले तीन महिनाभित्र त्यस्तो सामान भन्सार गोदाममा दाखिल भई सकेको हुनु पर्नेछ ।
स्रोत:भन्सार विभाग
Comment