नागरिकताजस्तै प्यान अनिवार्य « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नागरिकताजस्तै प्यान अनिवार्य




काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले लगानीकर्ताले कानुनी राज्य, कानुनको कार्यान्वयन र पूर्वाधार हेरेरमात्रै लगानी गर्ने भएकाले त्यसतर्फ सरकार चनाखो रहेको बताएका छन् ।

त्यसैका लागि सरकारले प्रविधिको प्रयोग गरिरहेको उनको भनाइ छ ।नेपाल कुरियर सेवा संघको रजतजयन्तीका अवसरमा शनिबार राजधानीमा आयोजित कार्यक्रममा कुरियर सेवामा आवद्ध व्यवसायीहरुले भेहिकल कन्साइन्मेन्ट ट्रयाकिङ सिस्टम (भीसीटीएस)ले आफूहरुलाई असर पारेको गुनासो गरेपछि मन्त्री खतिवडाले यस्तो बताएका हुन् ।

उनले भीसीटीएसले कुरियर सेवा व्यवसायलाई थप टेवा पुर्‍याउने भन्दै कुनै व्यावहारिक कठिनाइ भए समाधान गर्न सकिने बताए ।

भीसीटीएसले कुनैपनि व्यवसायलाई धरासायी नबनाउने उनले उल्लेख गरे ।मन्त्री खतिवडाले नागरिकताजस्तै आय–आर्जन गर्ने व्यक्तिका लागि स्थायी लेखा नम्बर (प्यान) अनिवार्य रहेको बताए ।

तत्कालका लागि अनिवार्य नदेखिएपनि पछि ‘प्यान’ अनिवार्य हुने भन्दै उनले प्यानकार्ड लिनसमेत आग्रह गरे । गएको साउनदेखि भदौसम्ममात्रै चार लाखजनाले प्यानकार्ड लिएको उनले जानकारी गराए ।

संघका अध्यक्ष गोविन्द ढुंगेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छुट्टै कुरियर डेस्क स्थापनाका लागि पहल गर्दा अझैसम्म हुन नसकेको भन्दै अर्थमन्त्रीको ध्यानाकर्षण गराए ।

संघले भीसीटीएस स्वागतयोग्य भएपनि कुरियर सेवालाई सहज गर्नेगरी व्यवस्था गर्न आग्रह गरेको छ ।

प्रकाशित : २१ भाद्र २०७६, शनिबार २१:२०