काठमाडौं । विश्व खाद्य कार्यक्रमको नेपालस्थित कण्ट्रि डाइरेक्टर पिप्पा ब्य्राड फडले मानव विकास सूचकांकमा पछाडी रहेकोले यसलाई माथि उकास्न पनि खाद्य सुरक्षाको प्रत्याभूति आवश्यक भएको बताइन् । विश्व खाद्य कार्यक्रम र नेपाल आर्थिक पत्रकार समाज(सेजन)को सहकार्यमा आयोजित ‘खाद्य सुरक्षा’ सम्वन्धी कार्यक्रममा उनले यस्तो यस्तो बताएकी हुन् । ‘नेपाल १ सय ८८ राष्ट्र मध्ये १ सय ४६ औं स्थानमा छ,’ उनले भनिन्,‘विकासको स्तर उकास्न पनि सबै नेपालीले खाद्य सुुरक्षाको प्रत्याभूति पाउनु पर्छ ।’
उनका अनुसार सीमान्तकृत र पिछडिएका क्षेत्र, समुदाय र वर्गका नागरिकहरुमा खाद्य असुरक्षा बढी देखिएको छ । साथै खाद्य सुरक्षा प्रत्याभूत गर्न के गर्न सकिन्छ भन्ने विषयको जरैसम्म गएर अध्ययन गरी कार्यान्वयनमा लाग्न उनको सुझाव थियो ।
सो अवसरमा खाद्य सुरक्षासम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै तथ्यांक विभाग नेपालका उपमहानिर्देशक(सहसचिव) हेमराज रेग्मीले खाद्य असुरक्षाको विषयमा बुझ्न विभिन्न चार आयामहरुका आधारमा विश्लेषण गर्नुपर्ने बताए ।
विगतमा खाद्य सामग्री उपलब्ध छ कि छैन भन्ने आधारमा मात्र खाद्य सुरक्षालाई हेर्ने गरिनेमा सो आधार गलत भएको जानकारी दिए । ‘उपलब्धतासँगै पहूँच, प्रयोगको तरिका(सन्तुलित आहारविहार) र खाद्य स्थिरता गरी चारै आधारलाई विश्लेषण गरेर मात्र खाद्य सुरक्षा छ कि छैन भनेर विश्लेषण गर्नुपर्ने हुन्छ’ उनले भने । कार्यक्रममा नेक्स्यापका राष्ट्रिय संयोजक श्रेष्ठले खाद्य असुरक्षाका विभिन्न ५ तह हुने बताए । न्यूनतम खाद्य असुक्षा, मध्यमस्तरी खाद्य असुरक्षा, उच्च खाद्य असुरक्षा, गम्भीर खाद्य असुरक्षाको तह पार गरेपछि मात्र भोकमरी देखिने बताए ।
कार्यक्रममा नेक्स्यापका कार्यक्रम अधिकृत दामोदर कणेलले नेक्स्यापको अनुगमन प्रक्रियाबारे प्रकाश पारेका थिए। नेस्क्यापले हालसम्म देशका ७४ जिल्लामा प्राविधिक अनुगमन गरेर चौमासिक रिपोर्ट निकाल्ने भए पनि काठमाडौं जिल्लामा भने खाद्य सुरक्षाको अनुगमन गर्न नसकेको बताए ।
कार्यक्रममा सेजनका अध्यक्ष गोकर्ण अवस्थिले नेपालका ३८ देखि ४० ओटा जिल्लामा अझै पनि आफ्नै उत्पादनले वर्षभरी खान नपुग्ने तथ्यांक रहेको बताए । ‘खाद्य सुरक्षा अहिले उत्पादनसँग मात्र नभएर क्रय शक्ति र महँगीसँग पनि गाँसिएको छ,’ उनले भने ।
Comment