शाइन रेसुंगा डेभलपमेण्ट बैंकले भार्गव विकास बैंकलाई एक्वायर गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

शाइन रेसुंगा डेभलपमेण्ट बैंकले भार्गव विकास बैंकलाई एक्वायर गर्ने



काठमाडाै । शाइन रेसुंगा डेभलपमेण्ट बैंकले भार्गव विकास बैंकलाई एक्वायर गर्ने भएको छ । दुई बैंकबीच प्राप्ति (एक्विजिशन) सम्बन्धी प्रारम्भिक सहमति पत्रमा हस्ताक्षर भएको छ । सहमती पत्रमा शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडको तर्फवाट सञ्चालक समितीका अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठ र भार्गव विकास बैंक लिमिटेडका तर्फवाट सञ्चालक समितीका अध्यक्ष डम्बर बहादुर थापाले हस्ताक्षर गरेका छन् ।

प्राप्ति पछिको वित्तीय संस्थाको नाम शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेड नै रहने र केन्द्रीय कार्यालय बुटवल उपमहानगरपालिका वडा नंं.. ६ मा रहने सहमति भएको छ । सम्झौता अनुसार, प्राप्तीपछि सञ्चालक समितीको अध्यक्षमा हाल शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडका सञ्चालक समितीका अध्यक्ष राजेन्द्र श्रेष्ठ नै कायम रहने छन् । संस्थाको प्रमुख कार्यकारी अधिकृतमा हाल शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडका बहालवाला प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेल नै कायम रहने छन् भने भार्गव विकास बैंक लिमिटेडका बहालवाला प्रमुख कार्यकारी अधिकृत पुष्करराज जोशी नायव कार्यकारी प्रमुख रहनेछन् ।

शाइन रेसुंगा रुपन्देही, अर्घाखांची, नवलपरासी, पाल्पा, गुल्मी, कपिलवस्तु, दाङ्ग, प्यूठान, बाग्लुङ्ग र चितवन गरी १० जिल्लामा कार्यक्षेत्र भएको “ख” वर्गको बिकास बैंकको रुपमा विगत १० वर्षदेखि सञ्चालनमा रहेको छ । भार्गवको ५ जिल्ला कार्यक्षेत्र भएकोमा हाल बाँके, बर्दिया र दाङ्ग जिल्लामा शाखा कार्यालयहरु सञ्चालनमा रहेका छन् । भार्गवलाई प्राप्ति गरेपश्चात सिनर्जी प्रभाव पर्न गई शाइन रेसुंगाको कारोवारमा उल्लेख्य बृद्धि हुने देखिन्छ ।

शाइन रेसुंगा डेभलपमेन्ट बैंकले रुपन्देहीको सिद्धार्थनगरमा केन्द्रीय कार्यालय रहेको पूर्णिमा विकास बैंक लिमिटेडलाई पनि एक्वायर गर्दैछ । प्राप्ति गर्ने सम्बन्धमा बैंकले नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागको पत्रसंख्याः बैं.वि.नि.वि.÷मर्जर÷३०÷०७५÷०७६ बाट मिति २०७६÷०१÷१६ मा सैद्धान्तिक सहमति समेत प्राप्त गरी सकेको छ ।

२०७५ चैत्र मसान्तको विवरण अनुसार, शाइन रेसुंगा डेभलपमेण्ट बैंकको चुक्तापुँजी एक अर्ब ६२ करोड २६ लाख रुपैयाँ रहेको छ भने भार्गव विकास बैंकको चुक्तापुँजी ५० करोड १६ लाख रुपैयाँ रहेको छ । त्यस्तै, पूर्णिमा विकास बैंकको. चुक्तापुँजी ५५ करोड १२ लाख रुपैयाँ रहेको छ । दुवै बैंकलाई प्राप्ति गरेपश्चात् शाइन रेसुंगाको चुक्तापुँजी दुई अर्ब ६७ करोड ५४ लाख रुपैयाँ पुग्नेछ ।

त्यस्तै, शाइन रेसुंगाको केन्द्रीय कार्यालय, ३९ शाखा कार्यालय तथा १ एक्सटेन्सन कार्यालय रहेका छन् भने पूर्णिमा विकास बैंकको केन्द्रीय कार्यालय, १२ वटा शाखा कार्यालय रहेका छन् । त्यस्तै, भार्गव विकास बैंकको केन्द्रीय कार्यालय, १७ वटा शाखा कार्यालय रहेका छन् । जसअनुसार, दुबै बैंकलाई एक्वायर गरेर बन्ने शाइन रेसुंगा डेभलपमेण्ट बैंकको केन्द्रीय कार्यालय, ६८ शाखा कार्यालय तथा १ एक्सटेन्सन कार्यालय हुनेछ ।

देशको बैंकिङ्ग क्षेत्रमा विद्यमान प्रतिस्पर्धात्मक अवस्था, नेपाल राष्ट्र बैंकबाट जारी भएका नीति नियमहरुले भविष्यमा पार्न सक्ने असरहरु, नेपाल राष्ट्र बैंक तथा नेपाल सरकारको बैंक तथा वित्तीय संस्था प्राप्ति (एक्विजिशन) सम्बन्धि प्रोत्साहन र सुविधाहरु, बैंक तथा वित्तीय संस्थाहरु प्राप्ति (एक्विजिशन) भएपछि प्राप्त हुने अवसरहरु लगायतका तथ्यहरु मनन गरी एक्विजिसनमा जान लागेको बैंकहरुले बताएका छन् । दुवै पक्षको कारोवार तथा वित्तीय सेवाको दायरालाई थप विस्तार गरी सवल, सुदृढ र उत्कृष्ट वित्तीय संस्थाको रुपमा शेयरधनीहरु लगायत सम्पूर्ण सरोकारवाला पक्षहरुको हितमा कार्य गर्ने, दुवै पक्षको स्थानीय पहुँच, विश्वासनियता, अनुभव र क्षमतालाई अधिकतम उपयोग गर्दे थप उपलब्धीमूलक र प्रभावकारी रुपमा अघि बढाउने उद्देश्य लिइएको छ ।

नेपाल राष्ट्र बैंकवाट इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको निर्देशन बमोजिम प्रादेशिक वा राष्ट्रियस्तरमा स्तरोन्नती हुने क्रममा चुक्ता पुँजी पुरा गर्ने प्रयोजनका लागि गाभ्ने÷गाभिने वा प्राप्ति सम्बन्धी कार्यलाई प्राथमिकता दिनु पर्ने व्यवस्था रहेको छ । भार्गवलाई प्राप्ति गरेपश्चात् शाइन रेसुंगा राष्ट्रिय स्तरको विकास बैंक बन्नेछ । हकप्रद शेयरका माध्यमवाट थप पूंजी संकलन गरी हरेक दृष्टिकोणवाट सवल, सुदृढ र उत्कृष्ट विकास बैंक हुने बैंकको योजना छ । यस एक्विजिसन पश्चात् बैंकको कारोवारको दायरा, बजार उपस्थिति, प्रतिस्पर्धात्मक क्षमताको बृद्धि र मुनाफामा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।

प्रकाशित : १ जेष्ठ २०७६, बुधबार १६:३५