पर्वत । जिल्लाको कुश्मा बजारमा बिक्री भइरहेको चामलको बोरामा रासायनिक मल युरिया मिसिएको फेला परेको छ । सौरभ फुड प्रोडक्टस प्रा.लि. बाराले २०७५ मंसिर २५ गते प्याकिङ गरेको ब्याच नं २९को सोल्टी जिरा मसिनो चालमको बोरामा युरिया मलका दाना भेटिएको जिल्ला प्रशासन कार्यालय पर्वतले जनाएको छ ।, आजको कारोबार दैनिकमा समाचार छ ।
पसलबाट चामलको बोरा किनेर लगेका कुश्मा नगरपालिका–७ गोदामका कृष्णप्रसाद आचार्यले बोरा खोल्दा युरिया मल मिसावट भएको पाइएको हो । उनले कुश्माबजारको दुर्लुङचोकमा रहेको प्रभु शरणम् किराना पसलबाट गत आइतबार साँझ चामल लगेका थिए । भात पकाएर खाँदा परिवारका सदस्यहरुलाई झाडा पखाला लागेपछि शंक लागेर चामल हेर्दा युरिया मलका दाना बाक्लै भेटिएको थियो ।
चामलको उपभोग्य मिति २ वर्ष छ । उपभोक्ता आचार्यको उजुरीको आधारमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बाग्लुङका निमित्त प्रमुख केदार पौडेलसहितको टोलीले चामलको बोरा नियन्त्रणमा लिई परीक्षणका लागि प्रयोगशाला पठाउने तयारी गरेको छ ।
Comment