बुटवलमा मेगा बैंकको प्रादेशिक कार्यालय शिलान्यास « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

बुटवलमा मेगा बैंकको प्रादेशिक कार्यालय शिलान्यास



काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले प्रादेशिक कार्यालयका लागि बुटवलमा अत्याधुनिक भवनको शिलान्यास गरेको छ ।

प्रदेश नम्बर ५ को प्रादेशिक कार्यालयका लागि बुटवलको मिलनचोकमा आफ्नै जमिनमा अत्याधुनिक भवनको शिलान्यास गरिएको हो । मेगा बैंकका अध्यक्ष भोजबहादुर शाह र प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले बुधबार एक समारोहका बीच संयुक्त रुपमा भवनको शिलान्यास गर्नुभयो ।

 मेगा बैंकको पञ्चबर्षीय रणनीतिक कार्ययोजना अनुसार सातै प्रदेशमा प्रदेश कार्यालय स्थापना गरेर बैंकिङ पहुँच बृद्धि गरी रोजगारमुलक एवं उत्पादनमुलक क्षेत्रमा गरिने लगानीको बढोत्तरी गर्ने लक्ष्य रहेको अध्यक्ष शाहले बताए । ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने सरकारी नारालाई साकार पार्न कृषि, पर्यटन, भौतिक पूर्वाधार, जलविद्युत, शिक्षा, स्वास्थ्य क्षेत्रका उद्यमी व्यावसायीसँग हातेमालो गर्न मेगा बैंक तयार रहेको भन्दै उनले सहकार्यका लागि आह्वान पनि गरे ।

मेगा बैंकले यसअघि नै बुटवलमा प्रादेशिक कार्यालय स्थापना गरी कारोबारलाई केन्द्रीत गरिरहेको छ । आगामी ११ महिनाभित्र अत्याधुनिक भवन निर्माण गरी आफ्नै कार्यालयबाट सेवा प्रदान गर्ने योजना गरेको प्रमुख कार्यकारी अधिकृत खुञ्जेलीले बताए । मेगा बैंकको कारोबार उत्साहजनक देखिएको बताउँदै सिइओ खुञ्जेलीले चालु आर्थिक बर्षको पहिलो त्रैमासिक अवधिमा ४० करोड ४५ लाख रुपैँया खुद मुनाफा गर्न सफल भएको जानकारी पनि दिए । उनका अनुसार, बैंकको कूल निक्षेप अघिल्लो बर्षको तुलनामा २६ अर्ब २७ करोडले वृद्धि भई २०७५ आश्विन मसान्तमा ६६ अर्ब ११ करोड रुपैँया पुगेको छ जुन ६६ प्रतिशतको वृद्धि हो । त्यसैगरी, कर्जा तथा सापटी २६ अर्ब ५४ करोडले वृद्धि भई ६२ अर्ब २५ करोड कायम भएको छ ।

भवन शिलान्यास कार्यक्रममा मेगा बैंकका सहायक नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत तुलसीराम पोखरेल तथा बुटवल क्षेत्रका उद्यमी, व्यावसायी तथा नागरिक समाजका अगुवाहरुको सहभागिता थियो ।

मेगा बैंकका १०२ वटा शाखा, १८ वटा एक्टेनशन काउन्टर, ११९ वटा शाखारहित बैंकिङ केन्द्रहरु, २ हजार ३ सय भन्दा बढी मेगा रेमीट सञ्जाल र ७९ वटा एटीएम सञ्चालनमा रहेका छन् ।

प्रकाशित : १२ मंसिर २०७५, बुधबार १२:५०