सिन्धुली सडक मर्मतसम्भार गर्न एक अर्ब ८५ करोड अनुदान सहयोग « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सिन्धुली सडक मर्मतसम्भार गर्न एक अर्ब ८५ करोड अनुदान सहयोग



काठमाडौं । जापान सरकारले भूकम्पबाट भत्केकोे सिन्धुली सडक मर्मतसम्भार गर्न रु एक अर्ब ८५ करोड अनुदान सहयोग उपलब्ध गराउने भएको छ ।

अनुदान सहयोगसम्बन्धी सम्झौता तथा समझदारीपत्रमा आज अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा नेपालका लागि जापानका राजदूत मासामिची साइगो र अर्थ सचिव राजन खनालले हस्ताक्षर गरे ।

पूर्वी तराईलाई राजधानी काठमाडौंसँग जोड्ने एकसय ६० किलोमिटर लामो सिन्धुली सडक जापानी अनुदानमा निर्माण भएको हो । बीस वर्षमा पूरा भएको उक्त सडक नेपाल सरकारलाई हस्तान्तरण गरेको एक महिनापछिको भूकम्पले प्रभावित भएको थियो ।

आगामी एक वर्षमा मर्मतसम्भारको काम पूरा गर्ने लक्ष्यका साथ आगामी माघदेखि कार्यसञ्चालन हुने अर्थ मन्त्रालयले बताएको छ ।

कार्यक्रममा राजदूत साइगोले नेपालको कृषि उत्पादनलाई बजारसम्म पुर्‍याउने, बालबालिकालाई विद्यालय तथा पर्यटन प्रवर्द्धनका निम्ति महत्वपूर्ण सिन्धुली सडक पुनर्निर्माणमा जापानले पुनः सघाएको बताए ।

सचिव खनालले नेपालको सामाजिक–आर्थिक विकासमा जापानबाट निरन्तर सहायता प्राप्त भएकामा हार्दिक आभार व्यक्त गरे ।

प्रकाशित : ८ कार्तिक २०७५, बिहीबार १५:३९