दैनिक सवा लाख सर्वसाधारणले उपत्यकाबाट बाहिरिदै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

दैनिक सवा लाख सर्वसाधारणले उपत्यकाबाट बाहिरिदै



काठमाडाैं । काठमाडौं उपत्यकाबाट दसैँ मान्न घर जाने क्रम वढेको छ । विगत केही दिनदेखि विभिन्न नाका हुँदै दैनिक सवा लाख सर्वसाधारणले उपत्यकाबाट बाहिरिने गरेका छन् ।

केही दिनदेखि दैनिक सवा लाख भन्दा बढी सर्वसाधारण उपत्यकाबाट बाहिरिरहेका महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । यात्रु बाहिरने क्रम वढेकाले यतिबेला सवैजसाे सडकमा सवारीकाे चाप छ ।

काठमाडौँ उपत्यकाबाट थानकोट नाका, विपी राजमार्ग, बल्खु-कुलेखानी-हेटौंडा सडकबाट धेरैजसो यात्रु बाहिरिने गरेका छन् । विपी राजमार्गको कारण पूर्वी नेपालका जिल्लामा आवतजावतमा सहज भएको छ ।

मंगलबार र बुधबार गरेर झण्डै अढाई लाख सर्वसाधरण उपत्यकाबाट बाहिरिएका छन् । सोमबार ९० हजार बाहिरिएका थिए । घटस्थापनापछि उपत्यकाबाट बाहिरिनेको संख्या अझ वढेकाेछ ।

नागरिक बाहिरिने क्रम वढेकाले उपत्यकाका सडकमा सवारी जाम कम हुँदै गएको छ । दसैँको वेला उपत्यकाबाट दुईतिहाइ सर्वसाधारण बाहिरिने गरेका छन् ।

दसैँमा गृहजिल्ला जाने यात्रुहरूको सहजताका लागि ट्राफिक प्रहरीले विभिन्न स्थानमा यात्रु सहायता कक्ष राखेको छ। टिकट विक्रीमा विचौलियाले गर्न सक्ने वेइमानीप्रति कडाई गरिएको प्रहरीको दावी छ ।

यसैबीच उपत्यकाबाट बाहिरिने र भित्रिने मुख्य नाका नौबिसे-नागढुङगा सडकमा जाम हुन नदिन ठूला मालबाहक सवारी साधन प्रवेशमा रोक लगाएको छ ।

घटस्थापनादेखि एक हप्ताका लागि यो सडकमा ठूला मालबाहक सवारी आवतजावतमा रोक लगाइएको जिल्ला प्रहरी कार्यलय धादिङका प्रहरी उपरीक्षक डम्बर बिकले जानकारी दिए ।

सडकमा ठूला मालबाहक सवारीले जाम वढाएपछि यात्रुबाहक सवारीलाई सहज आवतजावतका लागि ठूला सवारी सञ्चालनमा रोक लगाइएको हो ।

राजधानी प्रवेश गर्ने र राजधानीबाट बाहिरिने सवारीका साधनहरुको चाप अत्याधिक हुने र मालवाहक सवारीका कारण नौविसे-नागढुङगा सडक खण्डमा सवारी जाम हुने गरेको छ ।

प्रकाशित : २५ आश्विन २०७५, बिहीबार १३:१७