काम नगर्ने पप्पु कन्स्ट्रक्सनलाई राजनीतिक आड र दबाबमा साढे ५ अर्बको ठेक्का « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

काम नगर्ने पप्पु कन्स्ट्रक्सनलाई राजनीतिक आड र दबाबमा साढे ५ अर्बको ठेक्का



काठमाडौं। सरकारले विवादास्पद पप्पु कन्स्ट्रक्सन कम्पनीलाई पुल बनाउनकै लागि साढे ५ अर्ब रुपैयाँको ठेक्का दिएको पाइएको छ । एकपछि अर्को ठेक्का लिने तर काम नगर्ने पप्पु कम्पनीले राजनीतिक आड र दबाबले ठेक्का हात पारेको हो ।

ठेक्का लिने, काम अलपत्र पारेको विषयमा समाचार सार्वजनिक भएपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले उक्त कन्स्ट्रक्सनमाथि आन्तरिक छानबिनसमेत थालेको छ ।

उक्त कम्पनी संघीय समाजवादी फोरमका नेता एवं सांसद हरिनारायण रौनियारको हो । उनको कम्पनीले एकल र संयुक्तमा गरी पुलमा मात्र साढे ५ अर्बको ठेक्का पाएको हो ।

यातायात मन्त्रालयका सचिव मधुसूदन अधिकारीले पप्पु र आबद्ध कम्पनीले लिएका ठेक्का र कामबारे आन्तरिक छानबिन थालेको बताए । ‘सर्तबमोजिम कहाँ–कहाँ काम भएको छैन, हेरिन्छ,’ उनले कान्तिपुरसँग भने, ‘त्यो हेरेर कारबाही प्रक्रिया अघि बढ्छ । जसले ठेक्का लगाएका हुन् । उनीहरूसमेत कारबाही प्रक्रियामा जानेछन् ।’

पप्पु कन्स्ट्रक्सनले ठेक्का लिएका अधिकांश पुल अलपत्र छन् । ठेक्का अवधि सकिएको वर्षौं बितिसक्दा निर्माण प्रगति बढ्न सकेको छैन । सडक विभागअन्तर्गत पुल महाशाखाका अनुसार उक्त कन्स्ट्रक्सनले संयुक्त र एकल गरेर ३१ वटा पुलको काम लिएको छ । तीमध्ये १५ वटा पुलको समय सकिसकेको छ ।

अहिले समस्या देखिएको बर्दियास्थित जब्दीघाटको बबई पुल हो । यो पप्पु कन्स्ट्रक्सनको एकल ठेक्का हो । २०६७र६८ मा ठेक्का सम्झौता भई २०७३र७४ मा सक्ने गरी निर्माण सुरु गरिएको थियो । तर, एक वर्षअघि पुल भत्किएपछि अहिलेसम्म बनेको छैन । १८ करोड ८४ लाख ८४ हजारमा ठेक्का सम्झौता भएर निर्माणको काम सुरु भएको थियो ।

पुल भत्किए पनि उनले भुक्तानी लिइसकेका छन् । त्यस्तै कमला खोला पुलको ठेक्का पप्पु–लुम्बिनी जेभीले २०६८ असारमा पाए । २०७४ साउनमा सक्नुपर्ने उक्त पुल निर्माणको काम ४५ प्रतिशत मात्र भएको छ । ठेक्का रकम ३० करोड १६ लाख हो । २० करोड ७५ लाख भुक्तानी भइसकेको छ । त्यस्तै रूपनी–राजविराज–कुनौली सडकअन्तर्गत महुली घाडन खोला पुलको ठेक्का पप्पु–मृतसञ्जीवनी जेभीले २०७१ असारमा ठेक्का सम्झौता गर्‍यो । कान्तिपुर दैनिकबाट।

प्रकाशित : १९ भाद्र २०७५, मंगलवार ०८:१९