काठमाडौं । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास बिमस्टेकको चौथो शिखर सम्मेलन शुक्रबार दिउँसो सकिँदैछ । बिहिबारदेखि सुरु भएको सम्मेलनको दोस्रो तथा अन्तिम दिन बिहान ८ बजे सहभागी सदस्य राष्ट्रका राष्ट्र तथा सरकार प्रमुखको सम्मानमा प्रधानमन्त्री केपी शर्मा ओलीले होटल सोल्टीमा ‘रिट्रिट’ दिँदैछन् ।
रिट्रिट सकिएपछि बिमस्टेक घोषणा पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ ।
सम्मेलनको दोस्रो सत्र विहान १०ः३० बजे सुरु हुने छ ।
उक्त दोस्रो सत्रमा उर्जा आदान–प्रदानका लागि ‘ग्रिड इन्टरकनेक्सन’ समझदारी पत्रमा हस्ताक्षर गर्ने सहमति भइसकेको छ ।
ट्रान्सपोर्ट कनेक्टिभिटीको गुरुयोजना निर्माण तथा आतंकबाद र अन्य अन्तरदेशीय अपराध नियन्त्रणका विषयमा सम्मेलनमा छलफल हुने बताइएको छ ।
त्यसपछि काठमाडौं घोषणापत्र जारी गरी दिउँसो उक्त सम्मेलन समापन हुनेछ ।
विशेष कारण जनाउँदै बंगलादेशी प्रधाानमन्त्री शेख हसिना वाजेद भने बिहान ११ बजे नै बंगलादेश फर्किने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
घोषणापत्र जारी भएपछि पाँचौ शिखर सम्मेलन आयोजना गर्ने श्रीलंकाको प्रस्तावबारे श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले मन्तव्य राख्ने र पारित गर्ने कार्यक्रम रहेको छ ।
त्यसपछि प्रधानमन्त्री ओलीले समापन मन्तव्य राखेसंगै बिमस्टेकको चौथो शिखर सम्मलेन सकिने छ ।
सम्मेलन सकिएपछि राष्ट्रपति विद्यादेवी भण्डारी र श्रीलंकाका राष्ट्रपति सिरिसेनाबीच द्विपक्षीय भेटवार्ता हुनेछ ।
त्यस क्रममा नेपाल र श्रीलंकाबीच एउटा समझदारी पत्रमा हस्ताक्षर हुनेछ ।
त्यसैगरी नेपाल र भारतका प्रधानमन्त्रीबीच पनि द्विपक्षीय वार्ता हुनेछ । सो क्रममा रक्सौल–काठमाडौं रेलमार्गको इन्जिनियरिङ अध्ययन सम्झौतामा हस्ताक्षर हुनेछ ।
त्यसैगरी मोदीले भारतीय सहयोगमा पशुपतिनाथ मन्दिरमा निर्माण गरिएको धर्मशाला पनि हस्तान्तरण गर्ने कार्यक्रम रहेको बताइएको छ ।
Comment