मदिरा पिएर ‘ज्यान तताउँदा’ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

मदिरा पिएर ‘ज्यान तताउँदा’



काठमाडौं । चिसोयाममा मदिरा सेवनपछि खुला स्थानमा ढलेर मृत्यु हुने बढेका छन् । चिकित्सकका अनुसार त्यसरी ढलेका व्यक्तिमा हाइपोथर्मिया ‘शीतांग’ हुने गरेको छ ।

राजधानीमा एक सातामा चारवटा त्यस्ता घटना पाइएका छन् । खासगरी मंसिरदेखि माघसम्म पाइने शीतांगका घटना भूकम्प प्रभावित र मुलुकका अन्य भागमा समेत पाइएका छन् ।

काठमाडौं महाराजगन्जस्थित चिकित्सा क्याम्पसका फरेन्सिक चिकित्सा विशेषज्ञ डा. हरिहर वस्तीका अनुसार रक्सी सेवनपछि शीतांग भएको शंका गर्न सकिने शव जाडोयाममा बढी आउने गरेका छन् ।

पोस्टमार्टमका क्रममा मृतकमा कलेजोको गम्भीर संक्रमण, जन्डिसलगायत मदिरा उपयोगका कारण हुने रोगसँग अप्रत्यक्ष सम्बन्ध पाइने गरेको उनले बताए ।

विशेषज्ञहरूका अनुसार जाडोमा शरीर तताउन मद्यपानलाई सजिलो विकल्प ठानी मातेर राति ढलेकाहरू भोलिपल्ट बिहान नउठ्न पनि सक्छन् । र, मद्यपानपछि तत्काल न्यानो अनुभूति भए पनि त्यो भ्रम मात्र हो । त्यसबाट शरीर तातो नभई चिसो हुने हुनाले विशेष सावधानी अपनाउनुपर्ने चिकित्सकको सुझाव छ ।

महामारी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बाबुराम मरासिनी पनि जाडोबाट बच्ने उद्देश्यले रक्सी सेवन गर्नेहरूमा शीतांगको जोखिम औंल्याउँछन् । अत्यधिक मदिरा सेवनपछि बाटोमै ढलेकाहरू शीतांगका कारण मृत्युको मुखमा पुग्ने घटना काठमाडौंमा बर्सेनि ३० भन्दा बढी रहेको उनले जानकारी दिए ।

मदिराबाट शरीर तातो हुने मान्यता अधिकांश सेवनकर्ताको हुने गर्छ । विज्ञहरू भने मदिराले जीउ तातो नभई चिसो बनाउने बताउँछन् ।

के हो शीतांग ?

जाडोयाममा शरीरको तापक्रम ३४ डिग्री सेल्सियसभन्दा तल झरेको अवस्थालाई हाइपोथर्मिया ‘शीतांग’ भनिन्छ । यस्तो बेला हातखुट्टा चिसो हुनुका साथै सास फेर्न असजिलो, मुटुको चाल बढ्ने, रक्तचाप कम हुने र शरीरको तापक्रम कम भएपछि मृत्युसमेत हुन सक्छ ।

चिसो लाग्दा मुटुको चाल बढ्छ । विभिन्न अंगका मांसपेशीले आफूलाई न्यानो राख्न ऊर्जालाई बाहिर निकाल्न थाल्छन् । यस्तो बेला रगत प्रवाह पनि कम हुन्छ । खुट्टा र हत्केलामा चिसो अनुभूति हुन्छ । मद्यपानका कारण हात र खुट्टाका रक्तनली फैलिन थाल्छन् । र, रक्सी सेवन गरेकाहरूलाई हातखुट्टा तात्दै गएको भ्रम हुने गर्छ ।

विज्ञहरूका अनुसार शरीरको तापक्रम सामान्यभन्दा एकदेखि दुई डिग्रीसम्म कम हुने स्थितिमा हातलाई काम गर्न असजिलो र थाकेको अनुभव हुन्छ । दुईदेखि चार डिग्रीसम्म तापक्रम कम हुँदा जीउ काम्न थाल्छ, रक्तनलीहरू खुम्चिन थाल्छन् ।

प्रभावित व्यक्ति पहेंलो हुँदै जान्छ, ओठ र कान नीलो देखिन थाल्छन् । शरीरको तापक्रम ९० डिग्री फरेनहाइटभन्दा कम हुँदा प्रभावित व्यक्तिको जीउ काम्न बन्द हुन्छ, उसलाई सोच्न र बोल्न असजिलो हुन्छ । यस्तै, शरीरको तापक्रम ८६ डिग्री फरेनहाइटभन्दा कम हुँदा बिरामी हिँड्न सक्दैन । शरीरका सबै अंगले काम गर्न छाडछन् । कान्तिपुर दैनिकबाट

प्रकाशित : १८ पुष २०७२, शनिबार ०२:५४