काठमाण्डौ । औद्योगिक घराना पञ्चकन्या समूहद्वारा प्रवद्र्धित पञ्चकन्या माई हाइड्रो पावरले आज(साउन १ गते)देखि सर्वसाधारणका लागि आइपीओ निश्कासन गरेको छ ।
यो कम्पनीलाई धितोपत्र बोर्डले असार ८ गते सर्वसाधारणका लागि ११ करोड मूल्य बराबरको ११ लाख कित्ता आइपीओ निश्कासनको अनुमति दिएको थियो । कम्पनीले जेठ ७ गते आइपीओ निश्कासनको माग गर्दै बोर्डमा आवेदन दिएको थियो ।
कम्पनीले गत माघमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि समेत ११ करोड मूल्यकै आइपीओ निश्कासन गरेको थियो । त्यसपछि सोही मूल्य बराबरको आइपीओ सर्वसाधारणका लागि समेत निश्कासन गरिएको हो ।
आइपीओ खरीदका लागि साउन ४ गतेसम्म आवेदन दिइसक्नुपर्नेछ । इच्छुक लगानीकर्ताले न्यूनतम ५० कित्तादेखि अधिकतम ५ हजार ५ सय कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
आस्वा सेवा संचालनको अनुमति पाएका बैंक तथा बित्तीय संस्था र तिनका शाखाबाट आइपीओका लागि अनलाइन आवेदन दिन सकिनेछ ।
यो जलविद्युत कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि कुल पूँजीको १० प्रतिशतको दरले आइपीओ निश्कासन गरेको थियो । त्यसपछि सर्वसाधारणका लागि समेत १० प्रतिशत सेयरकै सार्वजनिक निश्कासन गरेको हो ।
यो कम्पनीले इलामको माबु, माईमझुवा, र सुलुबुङ्ग गाविसमा अप्पर माई जलविद्युत आयोजनाबाट ९।९८ मेगावाट बिद्युत उत्पादन गरिसकेको छ ।
हालै यो आयोजनालाई १२ मेगावाटमा क्षमता बृद्धि गरिएको छ । साथै ६.१ मेगावाट क्षमताको माथिल्लो माई सी(क्यास्केड) जलविद्युत आयोजना निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।
आइपीओका लागि कम्पनीले सनराइज क्यापिटल लिमीटेडलाई बिक्री प्रबन्धक तोकेको छ ।
१८.१ मेगावाट क्षमताको आयोजनाको प्रतिमेगावाट लागत १८ करोड ४० लाख रुपैयाँ रहेको छ।
इक्रा नेपालले कम्पनीलाई आइपिओ ग्रेड ४ को रेटिङ दिएको छ, यसको अर्थ औसत भन्दा कमजोर आधार रहेको कम्पनी भन्ने बुझिन्छ ।
Comment