एनएमबी बैंकको एफपीओ जेठ ३० गतेदेखि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

एनएमबी बैंकको एफपीओ जेठ ३० गतेदेखि



काठमाण्डौ । एनएमबी बैंकले आगामी जेठ ३० गतेदेखि एफपीओ निश्कासन गर्ने भएको छ ।

आवेदन दिएको १३ महिनापछि स्वीकृत एनएमबी बैंकको एफपीओमा छिटोमा असार ३ गतेसम्म आवेदन दिइसक्नुपर्नेछ । सो बेलासम्म पनि सबै बिक्री नभए आवेदन दिने अधिकतम समय असार २८ लाई तोकिएको छ ।

एनएमबी बैंकलाई धितोपत्र बोर्डले तीन दिनअघि मात्र एफपीओ निश्कासनको स्वीकृति दिएको थियो ।

बैंकले १०० रुपैयाँ अंकित दरको साधारण सेयरमा २३३ रुपैयाँ प्रिमियम थपी प्रतिकित्ता ३३३ रुपैयाँको दरले १ करोड १४ लाख १५ हजार १ सय ६३ कित्ता अतिरिक्त निश्कासन गर्न लागेको हो ।

लामो समयसम्म रोकिएका कारण एनएमबी बैंकले एफपीओ निश्कासनका लागि धेरै समय नलगाएको हो ।

निश्कासन खुल्ला भएको ४ कार्य दिनभित्र सम्पूर्ण सेयर खरीदका लागि सर्वसाधारणहरुबाट निवेदन प्राप्त नभएका संस्थागत लगानीकर्ताहरुले समेत आवेदन दिन पाउने व्यवस्था गरिएको छ ।

कम्पनीको एफपीओको निश्कासन तथा बिक्री प्रबन्धकको काम नागरिक लगानीकोषले गर्नेछ ।

यो बैंकले २०७४ बैशाख २० गते नै एफपीओ निश्कासनका लागि आवेदन दिएको थियो । तर, एफपीओ मूल्यमा अण्डरराइट गर्नेसँग कुरा नमिल्दा तथा राष्ट्रबैंकको नीतिगत व्यवस्थाका कारण समेत लामो समय रोकिएको थियो । एफपीओ निश्कासनको प्रक्रिया अगाडि नबढ्दा एनएमबी बैंकको पूँजी वृद्धि योजना समेत संकटमा परेको थियो ।

एफपीओबाट बैंकको चुक्तापूँजीमा १ अर्ब १४ करोड थप हुनेछ भने प्रिमियम बापत संकलन हुने २ अर्ब ६६ करोड जगेडाकोषमा जम्मा हुनेछ ।

हाल यो बैंकको चुक्तापूँजी ६ अर्ब ४६ करोड रुपैयाँ रहेको छ । एफपीओपछि चुक्तापूँजी ७ अर्ब ६० करोडको उचाईमा पुुग्नेछ । यस्तै, एफपीओपछि सर्वसाधारण सेयरधनीको स्वामित्व अनुपात हालको ३९.९९ प्रतिशतबाट वृद्धि भई ४९ प्रतिशत पुुग्नेछ । हाल ६०.०१ प्रतिशत रहेको संस्थापक सेयर होल्डिङ घटेर ५१ प्रतिशतमा झर्नेछ ।

यो बैंकको एफपीओलाई इक्रा नेपालले इक्रा एनपी आइपीओ ग्रेड ३ को रेटिङ दिएको छ । यसले बैंकको अवस्था औसत रहेको भन्ने जनाउँछ र यस्तो कम्पनीमा लगानी गर्नु जोखिमपूर्ण मानिँदैन ।

यो बैंकको २०७३ पुस २४ गते सम्पन्न वार्षिक साधारणसभाले एफपीओबाट पूँजी वृद्धि गर्ने प्रस्ताव पारित गरेको थियो ।

एनएमबी बैंकले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म १ अर्ब ४७ करोड खूद नाफा आर्जन गरेको थियो । कम्पनीको दोश्रो बजारमा अन्तिम बिक्री मूल्य प्रतिकित्ता ३९५ रुपैयाँ रहेको छ ।

इच्छुक लगानीकर्ताले बिक्री प्रबन्धकको कार्यालय तथा सीआस्वा संचालनको अनुमति पाएका सबै बैंक तथा बित्तीय संस्था र तिनका शाखाबाट आवेदन दिन सक्नेछन् ।

प्रकाशित : २३ जेष्ठ २०७५, बुधबार १२:२९