सहकारी आन्दोलनले उचित मार्ग प्रदान गर्नुपर्छ ः राज्मन्त्री बाँस्कोटा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सहकारी आन्दोलनले उचित मार्ग प्रदान गर्नुपर्छ ः राज्मन्त्री बाँस्कोटा



बनेपा /  सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले देशको संविधानले समाजवाद निर्माण गर्ने लक्ष्य लिएको बेला सहकारी आन्दोलनले उचित मार्ग प्रदान गर्नुपर्ने बताउनुभएको छ ।

जिल्ला सहकारी संघ लिमिटेडद्वारा आज बनेपामा आयोजित ‘स्थानीय विकासमा सहकारीको भूमिका’ विषयक अन्तक्र्रिया कार्यक्रममा उहाँले सहकारी आर्थिक हिसाबले समाजको पक्षपोषण गरेको बताउनुभयो ।

राज्यमन्त्री बाँस्कोटाले भन्नुभयो, “सहकारी आन्दोलन समाजवादी दिशाको किल्ला हो, यो देश निर्माणको कामसित गाँसेको छ, यसका लागि उद्योगको विकास र छरिएको पूँजीको संरक्षण गर्न सहकारी आन्दोलनमा लाग्नेहरु सामूहिक भावनाले काम गर्न सक्नुपर्दछ ।”

मुलुकको विकास र समृद्धिका लागि राष्ट्रिय पूँजीको विकास र अर्थतन्त्रको विकास गर्न आवश्यक रहेकोछ, उहाँले भन्नुभयो, “तीव्र आर्थिक विकासमा जाने हो भने बजेटको विषयमा यो भएन, त्यो भएन भनेर खुद्रा कुरा बन्द गर्न सक्नुपर्दछ ।”

राज्यमन्त्री बाँस्कोटाले सरकारले कृषि, यातायात, पर्यटन र ऊर्जा क्षेत्रलाई बजेट बढाएर उत्पादन बढाउने हिसाबले लगानी गर्न खोजेको उल्लेख गर्दै “स्थानीय तहको बजेट घट्यो भन्ने छ, पहिलो आलोचना या समर्थन पाउने स्थानीय तह नै भएकाले जनसंख्याको अवधारणाको हिसाबले बजेट अगाडि आएको छ,” भन्नुभयो ।

क्षेत्र विकास पूर्वाधार कोषको रकमबाट काम गर्न निर्वाचित सांसद वा नगर तथा गाउँपालिकाका अध्यक्षको नेतृत्वमा काम गर्न लागेको बताउँदै उहाँले यो जनसहभागितात्मक विकास प्रणालीलाई विकास गर्ने उद्देश्यले गरेको होे भन्नुभयो ।

राज्यमन्त्री बाँस्कोटाले ७० वर्ष उमेरमाथिका लागि रु एक लाखसम्मको उपचार खर्च र सुत्केरी महिलाको भत्तामा दोब्बर गरेकाले वृद्धभत्ता बढाउन नसकेको उल्लेख गर्दै संघीय बजेट सकारात्मक र राम्रो छ भन्नुभयो ।

“बजेटको विरोध गर्नु भनेको प्रतिपक्षीको धर्म निर्वाह गर्ने हो”, उहाँले अर्थमन्त्रीको भनाइ उद्धृत गर्दै भन्नुभयो, “दुई वर्ष गाली खाने हो, त्यसपछि ताली नै ताली खाने हो ।”

राज्यमन्त्री बाँस्कोटाले अहिले काम गर्ने समय भएकाले अर्को वर्ष आर्थिक वृद्धिदर आठ प्रतिशत पुग्ने विश्वास व्यक्त गर्दै त्यसका लागि समाजको सबै अंग भौतिक र मानवीय विकास गर्नेतर्फ अग्रसर हुनुपर्ने बताउनुभयो ।

प्रकाशित : १८ जेष्ठ २०७५, शुक्रबार १६:११