उद्योगमन्त्री यादवसँग अष्ट्रेलियन राजदूतको शिष्टाचार भेट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

उद्योगमन्त्री यादवसँग अष्ट्रेलियन राजदूतको शिष्टाचार भेट



काठमाडौँ । उद्योगमन्त्री मातृकाप्रसाद यादवसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत पिटर बडले आज शिष्टाचार भेट गर्नुभएको छ ।

सिंहदरबारस्थित सचिवालयमा आज उहाँहरुबीच भएको भेटवार्तामा द्विपक्षीय चासो र हितका विषयमा छलफल भयो ।

सो अवसरमा मन्त्री यादवले अष्ट्रेलिया सरकारले पु¥याउँदै आएको सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभयो । उहाँले समृद्धिको बाटोमा अग्रसर सरकारले लगानीकर्तालाई प्रोत्साहित गर्ने नीति लिएको जानकारी दिँदै नेपालमा लगानी गर्न चाहनेका लागि खुला दिलले सहयोग गर्ने बताउनुभयो ।

मन्त्री यादवले भन्नुभयो, “लगानीकर्ताको समस्या सम्बोधन गर्न सरकार प्रतिबद्ध छ, उत्पादन क्षेत्रमा लगानी गर्ने सबैलाई नेपालमा स्वागत छ, ढुक्क भएर लगानी गर्न सकिन्छ ।”

चुलिएको व्यापारघाटा कम गर्न उत्पादन बढाउनु पर्ने र रोजगारी सिर्जना गर्नुपर्ने भएकाले त्यसतर्फ मित्रराष्ट्रको सहयोग अपेक्षा गरिएको बताउँदै उहाँले प्राविधिक शिक्षाका क्षेत्रमा सहयोग तथा लगानी विस्तार गर्न आग्रह गर्नुभयो ।

उहाँले प्राविधिक शिक्षाका क्षेत्रमा विद्यालय खोल्नका लागि अष्ट्रेलियन सरकारले सहयोग गर्न सक्ने बताउनुभयो ।

उद्योग सचिव यमकुमारी खतिवडाको उपस्थितिमा भएको भेटवार्तामा राजदूत पिटरले अष्ट्रेलिया सरकारको सहयोगमा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी)ले सञ्चालन गर्दै आएको लघु उद्यम विकास कार्यक्रम(मेडेप) यसै वर्षको जुलाईदेखि सम्पन्न हुन लागेको जानकारी दिनुभयो ।

युएनडिपीले सञ्चालन गरेको कार्यक्रमको लागत घटाएर थप प्रभावकारी बनाउनका लागि अष्ट्रेलिया सरकारले सिधै नेपाल सरकारसँग सहकार्य गर्न चाहेको राजदूत पिटरको भनाइ थियो । उहाँले सिधै सरकारसँग सहकार्य गर्दा ३० प्रतिशत खर्च कम हुने जानकारीसमेत दिनुभयो ।

राजदूत पिटरले आगामी दिनमा दुई देशबीच रहिआएको सम्बन्धलाई थप विस्तार गर्न आपसी सहयोग प्रवद्र्धन गर्दै लगिने बताउनुभयो ।

प्रकाशित : ३ बैशाख २०७५, सोमबार १३:१९