सवारीसाधन नहुँदा स्थानीय तहको दैनिक कामकाजमै समस्या « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सवारीसाधन नहुँदा स्थानीय तहको दैनिक कामकाजमै समस्या



काठमाडौं, १५ असार  । मुलुकका अधिकांश स्थानीय तहमा सवारीसाधन नहुँदा दैनिक कामकाजमै समस्या उत्पन्न भएको छ । स्थानीय तहका प्रमुख तथा सरकारी अधिकारीले स्थानीयवासीको काममा सवारीसाधनको उपयोग गर्न नपाउँदा समस्या परेको खबर आजको कारोबार दैनिकमा छापिएको छ ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा पनि स्थानीय तहका जनप्रतिनिधिले सवारीसाधन अभावकै विषयमा गुनासो पठाउन थालेका छन् ।

तत्कालीन अवस्थाका नगरपालिकाहरूमा दुईपाङ्ग्रे र चारपाङ्ग्रे सवारीसाधन भए पनि अधिकांश स्थानीय तहमा सवारी साधन छैन ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तहमा के कस्ता सवारी साधन छन् भन्ने जानकारी लिने र व्यवस्थापन गर्नको लागि आवश्यक गृहकार्य गर्दैछ । मन्त्रालयले एक उच्चस्तरीय समिति बनाएर स्थानीय तहमा सवारीसाधन व्यवस्थापन गर्ने नीति लिएको छ ।

मन्त्रालयले संभवतः यही हप्ता बनाउने उक्त समितिले स्थानीय तहमा आवश्यक पर्ने सवारी साधनबारे अध्ययन गर्ने र हस्तान्तरण गर्ने बताइएको छ ।

स्थानीय तहमा सवारीसाधन व्यवस्थापन गर्ने सोचाइका साथ कार्य गरिरहेको मन्त्रालयको आन्तरिक व्यवस्थापन शाखाका उपसचिव इन्द्र गौतमले बताए ।

कुन–कुन स्थानीय तहमा कति सवारीसाधन चाहिने भन्ने अध्ययन गरेपछि विभिन्न मन्त्रालय, आयोजना÷परियोजना÷कार्यक्रमबाट तथा जिल्लास्तरीय कार्यालयहरू सवारीसाधन हस्तान्तरण गरिनेछ ।

स्थानीय विकास मन्त्रालयले सवारीसाधन खरिद गर्ने वा सो सम्बन्धित बजेट स्थानीय तहमा पठाउने भन्नेबारे पनि निर्णय गर्ने गौतमले बताए ।

सडक पहुँच पुगेका तत्कालीन गाविसहरूमा एक/एक मोटरसाइकल खरिद गर्ने निर्णय सरकारले यस अघि नै गरिसकेको छ । स्थानीय तहमा रूपान्तरण भएपनि पनि गत आवको फागुन दोस्रो हप्ता ती तहलाई सरकारले दिएको बजेटबाट पनि केहीले मोटरसाइकल खरिद गरेका थिए ।

तत्कालीन अवस्थामा अर्थ मन्त्रालयले भौतिक सम्पत्ति खरिद नगर्न भने पनि केही स्थानीय तहले भने मोटरसाइकल किन्ने र कतिपयले महँगो भाँडा तिरेर सवारीसाधन उपयोग पनि गरेका थिए ।

सडक पहुँच पुगेका स्थानीय तहमा समेत सवारीसाधन छैन । उता, विभिन्न १३ वटा विषयगत मन्त्रालयका काम, बजेटसमेत स्थानीय तहमा हस्तान्तरण भएकोले ती मातहतका सवारीसाधन र जिल्लास्थित कार्यालयका सवारीसाधन पनि स्थानीय तहमा हस्तान्तरण गर्नुपर्नेछ ।

उता सवारीसाधन भएकामा पनि वर्षात्मा अधिकांश स्थानीय तहमा यातायात चल्दैनन् । नगरपालिकामा गाडी भए पनि हिँडेर नै आवतजावत गर्नुपरेको सिन्धुलीको दुधौली नगरपालिका कार्यकारी अधिकृत दीपेन्द्र पौडेलले बताए ।

अहिले दुधौलीको सवारीसाधन उदयपुरको कटारीमा चिनजानको मानिसको घरमा सुरक्षित राखेको उनले जानकारी दिए ।

प्रकाशित : १५ श्रावण २०७४, आईतवार ०४:५२