मेगा बैंकलाई देशकै पहिलो ‘फाइभ स्टार बैंक’ बनाउने उद्घोष « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

मेगा बैंकलाई देशकै पहिलो ‘फाइभ स्टार बैंक’ बनाउने उद्घोष



काठमाडाै ७ साउन । मेगा बैंक लिमीटेडलाई देशकै पहिलो ‘फाइभ स्टार बैंक’ बनाउने उद्घोष गरिएको छ ।  बैंक स्थापनाको सातौ वर्ष पूरा गरी आठौं वर्षमा प्रवेश गरेको अवसरमा काठमाण्डौको राइजिङ मलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा बैंक संचालक समितिका अध्यक्ष भोजबहादुर शाहले यस्तो घोषणा गरेका हुन् ।

‘पहिला पनि हामीले हाम्रो बैंकलाई फाइभ स्टार बैंक घोषणा गरी अगाडि बढ्ने प्रस्ताव नियामकलाई राखेका थियौं ।’ अध्यक्ष शाहले बैंक कर्मचारीलाई सम्बोधन गर्दै भने–‘त्यसबेला नियामकले अनुमति दिन अकमकाए पनि हामीले त्यो कुरालाई मनमा राखिरहेकै छौ । हामी यो बैंकलाई ५ वर्षभित्र फाइभ स्टार बैंक बनाउने छौ, मनमा यही कुरा राखेर तपाई कर्मचारीहरुले काम गर्नुपर्छ । तपाईको काम र बैंकले प्रवाह गर्ने सेवामा फाइभस्टार लेभलको गुणस्तर प्रतिबिम्बित हुनुपर्छ ।’

अध्यक्ष शाहले अन्य बैंकले २० वर्षमा हासिल गरेको लक्ष्य मेगाले ७ वर्षमै प्राप्त गरेको भन्दै व्यवस्थापन टिमको प्रशंसा गरे । ‘हामी साना र मझौला खालका पूँजी परिचालनको सवालमा फरक ढंगले स्थापित हुँदैछौ ।’ उनले थपे–‘ठूला बित्तीय र विकास परियोजना समेत बैंकको सहयोगमा संचालन गर्न सकिन्छ भन्ने कुरा हामीले नै धेरैलाई अनुुभूत गराउन सफल भएका छौ ।’

बैंकले आगामी दिनमा कृषि, पर्यटन, जलविद्युत र पूर्वाधारको क्षेत्रमा लगानी वृद्धिमा विशेष ध्यान दिने समेत उनले उद्घोष गरे । फाइभ स्टार बैंक निर्माणदेखि लगानीमा समेत बैंक फरक ढंगले स्थापित गराउनका लागि आफूहरुले ५ वर्षे रणनीतिक योजना अगाडि सारेको समेत उनले खुलाए।

अध्यक्ष शाहले निकट भविष्यमै मेगाले ७ वटै प्रदेशमा क्षेत्रीय हेडक्वार्टर स्थापना गर्ने उद्घोष समेत गरे । टुरिजम डेभलपमेन्ट बैंकसँगको प्राप्तिपछि मेगाको चुक्तापूँजी साढे ९ अर्बको हाराहारीमा पुुग्ने र त्यसपछि मेगा बैंक धेरै चुक्तापुँजी हुने बैंकको लहरमा अग्र पंक्तिमा रहने उनले बताए ।

अध्यक्ष शाहले साढे ९ अर्ब पूँजी पुुगेपछि चूप लागेर नबस्ने उल्लेख गर्दै भने–‘त्यसपछि पनि हामी साना संस्थालाई एक्वायर गर्ने रणनीतिलाई कायमै राख्छौ । मेगा बैंकलाई नाम अनुसारकै ‘मेगा’ बनाउने हाम्रो अभियान आगामी दिनमा अझ तीव्र गतिमा अगाडि बढ्नेछ ।’

भविष्यमा बैंकले विदेशी मुलुकमा साझेदारहरुसँग सम्बन्ध बिस्तारमा समेत विशेष ध्यान दिने उनले जानकारी दिए ।

प्रकाशित : ७ श्रावण २०७४, शनिबार ०९:२१