काठमाडौं, ३१ असार । सेञ्चुरी कमर्सियल बैंकले सगरमाथा फाइनान्स प्राप्ति गरी शनिबारबाट एकीकृत कारोवार शुरु गरेको छ । अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्की शनिबार एक समारोहबीच एकीकृत कारोबारको शुभारम्भ गरे ।
सेञ्चुरी बैंकले सगरमाथा फाइनान्सलाई सय बराबर ९५ को शेयर स्वाप रेसियोमा प्राप्ति गरेको हो । संयुक्त कारोबारका लागि सिस्टमको अपग्रेड हुने भएकाले साउन १ गते सगरमाथा फाइनान्स र सेञ्चुरी बैंकको कारोबार बन्द रहने बताइएको छ ।
हाल सेञ्चुरी कमर्सियल बैंकको चुक्ता पुँजी ४ अर्ब ७१ करोड रुपैयाँ रहेको छ । सगरमाथा फाइनान्सबाट बैंकमा ७२ करोड पूँजी थप हुनेछ ।
सेञ्चुरी कमर्सियल बैंकले बिहीबारमात्रै चुक्ता पुँजीको ४० प्रतिशतको दरले हकप्रद शेयर निष्काशन गरेको छ । उक्त हकप्रदमा सेञ्चुरीमा हालै गाभिएका इन्नोभेटिभ र अरनिको डेभलपमेन्ट बैंकका शेयरधनीले पनि आवेदन दिन पाउनेछन् । तर, सगरमाथाका शेयरधनीले भने यो अवसर पाउने छैनन् ।
यस्तै, सेञ्चुरी कमर्सियल बैंक अल्पाइन डेभलपमेन्ट बैंक र सेती फाइनान्सलाई समेत प्राप्तिको प्रक्रियामा छ । यी दुुई संस्था गाभिएपछि सेञ्चुरीको चुक्ता पुँजीमा ५० करोड रुपैयाँ थप हुनेछ । चालू आर्थिक वर्षको आर्जन गरेको खुद नाफाबाट बोनस शेयर जारी गरेर बैंकले सहजै ८ अर्ब रुपैयाँ चुक्ता पुँजी पु¥याउनेछ ।
Comment