काठमाडौं । नेपाल बैंकर्स संघको अध्यक्षमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्रराज रेग्मी निर्विरोध निर्वाचित भएका छन्। संघको सम्पन्न ४०औँ वार्षिक साधारणसभाले रेग्मीलाई अध्यक्षमा चयन गरेको हो।
यसअघि संघको उपाध्यक्ष रहेका रेग्मीले अब बैंकिङ क्षेत्रका प्रमुख कार्यकारी अधिकृतहरूको साझा संस्थाको नेतृत्व गर्नेछन्। संघको नेतृत्व हस्तान्तरण गर्ने प्रचलित अभ्यासअनुसार उपाध्यक्षलाई अध्यक्ष बनाउने परम्पराले यसपटक पनि निरन्तरता पाएको छ।
त्यस्तै, संघको उपाध्यक्षमा कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाल चयन भएका छन्। गत बुधबार भएको अनौपचारिक छलफलमै नयाँ नेतृत्व चयनबारे सहमति जुटेपछि साधारणसभाबाट पदाधिकारीहरू निर्विरोध चयन भएका हुन्।
संघको कार्यसमितिमा निवर्तमान अध्यक्षसहित १० जना रहने व्यवस्था छ। निवर्तमान अध्यक्षमा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला रहेका छन्।
यसैबीच, लक्ष्मी सनराइज बैंकबाट प्रमुख कार्यकारी अधिकृत पदबाट अवकाश पाएका अजयविक्रम शाहको कार्यसमिति सदस्य पद रिक्त भएको छ। संघको व्यवस्थाअनुसार प्रमुख कार्यकारी अधिकृत पदबाट अवकाश पाएसँगै संघको सदस्यता पनि स्वतः समाप्त हुने भएकाले उनको पद रिक्त भएको हो।






प्रतिक्रिया